site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
साढे २१ खर्ब नाघ्यो नेपालको सार्वजनिक ऋण, पछिल्लो १० महिना करिब डेढ खर्ब थपियो

काठमाडौं । नेपालले तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व साढे २१ खर्ब रुपैयाँ नाघेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार वैशाख मसान्तसम्ममा नेपालले रू १० खर्ब ८३ अर्ब ४७ करोड ४९ लाख आन्तरिक र रू १० खर्ब ७० अर्ब ६४ करोड ९० लाख बाह्य गरी कूल रू २१ खर्ब ५४ अर्ब १२ करोड ३९ लाख बराबर ऋण तिर्न बाँकी रहेको देखिएको हो ।

चालु आर्थिक वर्ष २०७९/८० सुरु हुँदा अर्थात गत वर्ष असार मसान्तसम्ममा नेपालको सार्वजनिक ऋण रू २० खर्ब १३ अर्ब २९ करोड ६४ लाख बराबर थियो । चालु आर्थिक वर्षको पछिल्लो १० महिना अवधिमा मात्र रू एक खर्ब ४० अर्ब ८२ करोड ७५ लाख बराबर ऋण थपिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपालको कूल गार्हस्थ्य उत्पादन (जीडीपी)को आकार रू ४८ खर्ब ५१ अर्ब ६२ करोडलाई आधार मान्दा जीडीपीमा सार्वजनिक ऋणको अनुपात ४४ दशमलव ४० प्रतिशत बराबर देखिएको छ । जीडीपीमा सार्वजनिक ऋणको अनुपात बढ्दै जानु र न्यून पूँजी निर्माणका कारण आर्थिक वृद्धिदरसमेत कमजोर भइरहँदा त्यसले आगामी दिनमा मुलुकको अर्थतन्त्रलाई जोखिममा पार्नेसक्ने देखिएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको १० महिना अवधिमा मात्र सरकारले रू दुई खर्ब ३० अर्ब २४ करोड ६७ लाख ऋण उठाएको छ भने रू एक खर्ब ४३ अर्ब ४२ करोड दुई लाख बराबर साँवा ब्याज तिरेको छ ।

वैशाख मसान्तसम्ममा सरकारले गरेको पूँजीगत खर्चभन्दा सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानीमा गरेको खर्च करिब रू १८ अर्बले बढी हो । वैशाख मसान्तसम्ममा सरकारको पूँजीगत खर्च रू एक खर्ब २५ अर्ब ६७ करोड बराबर छ ।

यसरी एकातर्फ सरकारको राजश्व असुली न्यून हुँदा ऋण उठाएर घाटा बजेट पूर्ति भइरहेको छ भने अर्कोतर्फ बर्सेनि थपिँदै गएको ऋणको साँवा ब्याजसमेत बढ्दै जाँदा वार्षिक बजेटको ठूलो अंश यसमा खर्च हुने गरेको छ ।

चालु आर्थिक वर्षको १० महिनामा सरकारले आन्तरिक ऋणको साँवा ब्याज भुक्तानीमा रू एक खर्ब १० अर्ब ४२ करोड ५८ लाख र बाह्य ऋणको साँवा ब्याज भुक्तानीमा रू ३२ अर्ब ९९ करोड ६२ खर्चिएको छ । 

आन्तरिकतर्फको साँवा रकम रू ६३ अर्ब ४७ करोड ४४ लाख, ब्याज रू ४६ अर्ब ८५ करोड तीन लाख र कमिसन रकम रू १० करोड ११ लाख बराबर रहेको छ । त्यस्तै, बाह्य ऋणतर्फ साँवा भुक्तानीमा रू २५ अर्ब ९४ करोड ४८ लाख र ब्याज भुक्तानीमा रू सात अर्ब पाँच करोड १४ लाख बराबर खर्च भएको कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म सरकारले उठाएको आन्तरिक ऋण रू एक खर्ब ५९ अर्ब ५० करोड र बाह्य ऋण रू ७० अर्ब ७४ करोड बराबर रहेको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ अनुसार कूल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ बराबर छ । कूल सार्वजनिक ऋणलाई कूल जनसङ्ख्यासँग तुलना गर्दा प्रतिव्यक्ति ऋण रू ७३ हजार ८६० बराबर पर्न जान्छ । रासस

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १८:१३
प्रतिक्रिया दिनुहोस्