site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
दक्षिण कोरिया जाने नेपाली कामदारलाई प्रिपेड सिमकार्ड वितरणका नाममा ठगी
तस्बिर : फेसबुकबाट ।

काठमाडौं । दक्षिण कोरिया जाने नेपाली कामदारलाई प्रिपेड सिमकार्ड वितरणका नाममा ठगी भइरहेको पाइएको छ । ललिपुरमा रहेको ईपीएस कोरिया शाखाको कार्यालय परिसरमा दक्षिण कोरिया जाने नेपाली कामदारलाई अवैध रूपमा प्रिपेड सिमकार्ड वितरण भइरहेको पाइएको हो ।

सिमकार्ड निःशुल्क रूपमा वितरण भइरहे पनि त्यो कोरिया घुम्न गएका विदेशीले केही दिन प्रयोग गरेर छाडेको रहेको पाइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सिमकार्ड वितरण निःशुल्क वितरण गर्ने भनिए पनि रिचार्ज गर्ने नाममा प्रतिव्यक्ति तीन हजार रुपैयाँसम्म उठाउने गरेको पाइएको ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले बताए ।

अवैध रूपमा प्रिपेड सिमकार्ड वितरण भइरहेको पाइएपछि उक्त कार्य रोक्न नेपाल प्रहरी, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलगायत सम्बन्धित निकायलाई जानकारी गराइएको उनले बताए ।

अवैध रूपमा कोरियाको प्रिपेड सिमकार्ड बिक्री–वितरण भइरहेको गुनासो आएसँगै अनुगमन गरी कारबाही गर्न अनुरोध गर्दै गएको पुस ४ गते प्रहरी र सो विभागलाई पत्र लेखी पठाएको उनले जानकारी दिए । त्यसरी सिमकार्ड वितरण कार्य नरोकिएपछि पुनः वैशाख ३१ गते दोस्रोपटक प्रहरीलाई जानकारी गराइएको उनले बताए ।

ईपीएस कोरिया शाखाका निर्देशक कटुवालले कार्यलय परिसरवरपर बिमा, फोटोकपी, प्रिन्टिङलगायत कार्य बजार मूल्यभन्दा चर्को शुल्क लिई ठगी गर्ने गरिएको पनि बताए । यस्ता ठगी कार्य तत्काल रोक्न सम्बन्धित निकायलाई अनुरोध गरिएको उनले जानकारी दिए ।

यस्ता ठगीबारे सम्बन्धित निकायलाई ताकेता गरेको करिब पाँच महिना पुग्न लाग्दा समेत समस्या समाधान नभएको उनले गुनासो गरे । हालसम्म प्रहरी र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग अनुगमन समेत गर्न नआएको उनले बताए ।

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  ११:००
प्रतिक्रिया दिनुहोस्