site stats
बाह्रखरी :: Baahrakhari
कला
दीपकका सिनेमा सय करोड क्लबमा ?

काठमाडौं । दीपकराज गिरीका सिनेमाले नेपाली बक्सअफिसमा करिब सय करोडको कारोबार गरेका छन् । दीपकराज गिरीको सिनेमा सम्बन्धी कम्पनी सरस्वती मुभिज प्रा.ली.को ब्यानरमा बनेका उनका हालसम्मका चलचित्रले सय करोडको हाराहारीका कारोबार गरेका हुन् ।

‘वडा नम्बर ६’, ‘६ एकान ६’, र ‘छ माया छपक्कै’ गरेर तीन तथा ‘छक्का पञ्जा’का चारवटा सिरिजसहित सातवटा सिनेमाले नेपाली बक्सअफिसमा सय करोडको हाराहारीमा कारोबार गरेको दीपक बताउँछन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“आमा सरस्वती मुभिजको कम्पनीमा बनेका चलचित्रले करिब सय करोडको हाराहारीमा करोबार गरेको हिसाव आएको छ” दीपकराज गिरीले बाह्रखरीसँग भने, “दर्शकको साथ आजसम्म मिलेको छ ।”

‘वडा नम्बर ६’ उज्जवल घिमिरेले निर्देशन गरेका थिए भने ‘६ एकान ६’ दिनेश डिसीले निर्देशन गरेका हुन् । ‘छ माया छपक्कै’ दीपेन्द्र लामाले निर्देशन गरेका थिए । ‘छक्का पञ्जा’का लगातार तीनवटा सिरिज दीपाश्री निरौलाले निर्देशन गरिन् । ‘छक्का पञ्जा–४’ भने हेमराज बिसीले निर्देशन गरेका छन् । 

‘छक्का पञ्जा’ सिरिज नेपालमा धेरै बक्सअफिस कलेक्सन गर्ने सीमित सिनेमामध्येको एक हो । बक्सअफिस कलेक्सन, डिजिटल राइट्स, ओभरसिज राइट्सलगायतबाट दीपकका सिनेमाले सय करोडको हाराहारीमा कलेक्सन गरेका हुन् । सिनेमाको अर्को आम्दानीको स्रोत युट्युब र डिजिटल प्लेटफर्म (ओटीटी) पनि हो । यसबाहेक दीपकराज गिरीका सिनेमाले आईएमईलगायत केही ब्राण्डबाट स्पोन्सरसमेत पाउने गरेका छन् । 

दीपकले आफ्नो ब्यानर आमा सरस्वती मुभिजको नाम आफ्नी आमाको नामबाट राखेका हुन् । 

दीपकको सिनेमा बनाउने आफ्नै टिम छ । केदार घिमिरे, दीपाश्री निरौलालगायतको टिममा उनी काम गर्दै आएका छन् । उनी प्रायः आफूले बनाउने र खेल्ने चलचित्रको कथा आफैँ लेख्छन् । अरुको कथामा काम गर्नु परे पटकथा र संवादमा आफैँ बस्छन् । 

उनी दर्शकको रुचि अनुसार सिनेमा बनाउनु पर्ने बताउँछन् । आफ्ना लागि दर्शक नै समीक्षक भएको उनले बताउने गरेका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  ०९:३६
प्रतिक्रिया दिनुहोस्