site stats
बाह्रखरी :: Baahrakhari
देश
बाल क्यान्सरको उपचारमा प्रयोग हुने ३५ प्रकारका औषधि नि:शुल्क गरिँदै

काठमाडौं । सरकारले बाल क्यान्सरको उपचारमा प्रयोग हुने ३५ प्रकारका औषधि नि:शुल्क दिने भएको छ । विश्व स्वास्थ्य संगठनको ‘ग्लोबल इनिसिएटिभ फर चाइल्डहुड क्यान्सर’ (जीईइसीसी) कार्यक्रमअन्तर्गत नेपाललाई ३५ प्रकारका औषधि नि:शुल्क उपलब्ध गराउन लागिएको हो ।

अमेरिकाको सेन्ट ज्युड चिल्ड्रेन्स रिसर्च हस्पिटलको सहयोगमा नेपालसँगै मंगोलिया, जिम्बाबे, युगान्डा र उज्बेकिस्तानलाई ६ वटा क्यान्सरको उपचारमा प्रयोग हुने औषधि प्रदान गरिँदै छ । । 

नि:शुल्क दिन लागिएका औषधिहरू रक्त क्यान्सरका विभिन्न प्रकारसहित, आँखामा हुने (रेटिनोब्लास्टोमा), मस्तिष्कसम्बन्धी (न्युरोब्लास्टोमा) लगायतका ६ वटा क्यान्सरको केमोथेरापीमा प्रयोग हुने अत्यावश्यक औषधि हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जीआईसीसीले उपलब्ध गराएको औषधि नेपाल ल्याउने जिम्मा युनिसेफले लिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रंमुख डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

पहिलो चरणमा जीआईसीसीले सन् २०२४ को जुनसम्म नेपाललाई नि:शुल्क औषधि उपलब्ध गराउनेछ । त्यसका लागि यही अप्रिल १४ मा अमेरिकाको सेन्ट ज्युड चिल्ड्रेन्स रिसर्च हस्पिटल पुगेर स्वास्थ्य मन्त्रालयका सचिव देवकुमारी गुरागाईं नेतृत्वको टोलीले जीआईसीसीसँग सम्झौता गरेको थियो ।  

कहाँबाट कसरी दिइन्छ नि:शुल्क औषधि ?
३५ प्रकारका औषधि नेपालमा आगामी सेप्टेम्बरदेखि दिनेगरी ल्याउन लागिएको कान्ति बाल अस्पतालका निर्देशक डा. युवनिधि बसौलाले बताए । नेपालमा यसअघि ती औषधि दर्ता नभएकाले सेप्टेम्बरसम्ममा औषधि व्यवस्था विभागबाट आकस्मिक प्रयोजनका लागि अनुमति लिनुपर्नेछ । 

कान्ति बाल अस्पताल, भरतपुर र भक्तपुर क्यान्सर अस्पतालबाट नि:शुल्क औषधि प्रदान गरिनेछ । डा. बसौलाका अनुसार औषधि टेकुस्थित भण्डारण केन्द्रमा राखी आवश्यकता अनुसार अस्पतालमा वितरण गरिनेछ ।

नि:शुल्क अ‍ैषधि लिन बिरामीलाई कुनै थप सिफारिस आवश्यक पर्दैन । 

बाल क्यान्सरको उपचारमा राहतको अपेक्षा 
नेपालमा बर्सेनि एक हजारदेखि एक हजार पाँचसय जना बालबालिकालाई क्यान्सर हुने गरेको अनुमान छ । तर, तीमध्ये झन्डै पाँचसय जनामा मात्रै पहिचान हुने गरेको छ ।

कान्ति बाल अस्पतालमा बर्सेनि तीनसय जना नयाँ बिरामी थपिने गरेको तथ्यांक छ । उपचारमा आएकामध्ये पनि २५ देखि ३० प्रतिशत बालबालिकाले बिचमै उपचार छोड्ने गरेको कान्ति बाल अस्पतालका बाल क्यान्सररोग विशेषज्ञ डा. सुधीर सापकोटा बताउँछन् । 

कान्ति बाल अस्पतालमा क्यान्सरको उपचार गराएका बालबालिकाको निको हुने दर ७० प्रतिशत छ । तर, उपचार गराउँदै जाँदा आर्थिक अवस्थाले नभ्याउने भएपछि बिचमै उपचार छोडेर जाने कारणले नेपालमा बाल क्यान्सर चुनौती बनेको उनी बताउँछन् ।

"समग्र उपचारको झन्डै २५ प्रतिशत खर्च औषधिमा हुने गरेको छ । यसबाहेक परीक्षण र परिवारको बस्ने खाने लगायतमा पनि ठूलो खर्च हुन्छ । औषधि मात्रै पनि नि:शुल्क भए पूरा उपचार गराउनेको संख्या बढ्छ भन्ने हाम्रो अपेक्षा हो," डा. सापकोटा भन्छन् । 

सरकारले सबै प्रकारका क्यान्सरमा प्रतिव्यक्ति एक लाख रुपैयाँसम्म उपचार खर्च छुट दिँदै आएको छ । यसबाहेक प्रदेश सरकारले पचास हजारदेखि दुई लाखसम्म थप राहत दिँदै आएका छन् । तर, यो रकम क्यान्सरका बिरामीको उपचारका लागि पर्याप्त नहुने निर्देशक डा. बसौला बताउँछन् ।

६० प्रतिशतभन्दा बढी बालबालिका बचाउने प्रयास 
दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म बाल क्यान्सरबाट बाँच्ने दर ६० प्रतिशतभन्दा बढी पुर्‍याउने उल्लेख छ । तर, नेपालमा ढिलो उपचारमा आइपुग्ने, उपचार नै नगराउने तथा बिचमा उपचार छोड्नेजस्ता कारणले यो दर समग्रमा ४० प्रतिशत मात्रै भएको डा. बसौला बताउँछन् ।

अस्पतालको तथ्यांकअनुसार सन् २०२१ मा क्यान्सर पहिचान भएकामध्ये १३.१४ प्रतिशत बालबालिकालाई कुनै उपचार नै नगरी फर्काइएको छ । यसमा आर्थिक अभाव नै मुख्य कारण रहेको उनको अनुभव छ ।

नि:शुल्क औषधिको व्यवस्थाले बढीभन्दा बढी बालबालिकालाई उपचारको दायरामा ल्याउन सहयोग पुग्ने र आर्थिक अभावकै कारण बिचमा उपचार छोड्नुपर्ने बाध्यता हटेर जाने उनको अपेक्षा छ । 

यी हुन् नि:शुल्क प्रदान गर्न लागिएका औषधि

Medi1682357020.jpg

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  ०६:१७
प्रतिक्रिया दिनुहोस्