site stats
बाह्रखरी :: Baahrakhari
देश
गुल्मीमा डढेलो निभाउने क्रममा बालकको मृत्यु
मोरङको बेलबारी–१०, भाउनेमा रहेको सिंहदेवी सामुदायिक वनमा लागेको डढेलो । तस्बिर : गोपाल काफ्ले/रासस ।

गुल्मी । गुल्मीमा डढेलो निभाउने क्रममा एक बालकको मृत्यु भएको छ । डढेलोमा परी गम्भीर घाइते भएका धुर्कोट गाउँपालिका–३, हाडहाडेका १३ वर्षीय दीपक मुखियाको आज बिहान उपचारका क्रममा पाल्पास्थित मिसन अस्पतालमा मृत्यु भएको हो ।
 
गए राति आफ्नो परिवारका सदस्यका साथमा स्थानीय बर्दवास जंगलमा लागेको डढेलो निभाउने क्रममा मुखिया गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि राति नै तम्घासस्थित गुल्मी अस्पतालमा ल्याइएको थियो । यहाँ उपचार हुन नसेकपछि राति नै पाल्पा पठाइएको थियो ।

मुखियाको उपचारकै क्रममा बिहान मिसन अस्पतालमा मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल, गुल्मीका सशस्त्र प्रहरी नायब उपरीक्षक निवनकुमार खड्काले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सोही ठाउँमा डढेलोमा परी घाइते भएका ५५ वर्षीय धनबहादुर जोगी कुँवरलाई पनि पाल्पामा उपचार हुन नसकेपछि आज बिहान थप उपचारका लागि बुटवल पठाइएको छ ।

यसैबीच, इस्मा गाउँपालिकामा बिहीबार भएको आगलागीबाट दुई घर र तीन गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ । इस्मा गाउँपालिका–५, दमारका शिवलाल कुमाल र रुद्रबहादुर कुमालको घर र गोठ जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय सामुदायिक वनमा लागेको डढेलो बिहीबार अपराह्न गाउँ पसेपछि घरगोठसहित अन्न र लत्ताकपडा जलेर नष्ट भएको स्थानीय बोमबहादुर कुमालले जानकारी दिए ।

दुई सातादेखि गुल्मीका विभिन्न सामुदायिक वन तथा राष्ट्रिय वनमा लागेको डढेलो निभाउन स्थानीयवासी, जनपद प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीलाई हम्मेहम्मे भएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  ०९:५५
प्रतिक्रिया दिनुहोस्