site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मधेसको भागबन्डा काठमाडौंमा !
मुख्यमन्त्री सरोजकुमार यादव (बीचमा) । फाइल तस्बिर ।

जनकपुरधाम । मधेस प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएको १० दिन बितिसकेको छ । मुख्यमन्त्री सरोजकुमार यादवसँगै तीन मन्त्रीले शपथ लिएको पनि एक साताभन्दा बढी भइसक्यो । तर, सरकारले अझै पूर्णता पाएको छैन । शपथग्रहण गरेका मन्त्रीहरूको समेत विभाग तोकिएको छैन ।

मुख्यमन्त्री यादव प्रदेशसभाबाट विश्वासको मत पाएसँगै मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल गर्न काठमाडौं पुगेका छन् । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र मधेसका मुख्यमन्त्री यादवबीच शनिबार काठमाडौंमा भेटवार्ता भएको छ ।

जसपाप्रति संघीय सरकारको दृष्टिकोण प्रस्ट भएपछि मात्र मधेस सरकारले पूर्णता पाउने बताइएको छ । “केन्द्र सरकारमा जसपाको सहभागिता र सहमतिलाई कुरिएको छ,” सो पार्टीका एक प्रदेश सांसदले भने, “मधेस प्रदेश सरकारको विस्तारमा अझै केही समय लाग्न सक्छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मधेसमा १० मन्त्रालय छन् । मुख्यमन्त्रीबाहेक थप तीन मन्त्रालय पाउनुपर्ने जसपाको अडान छ । नेकपा (एमाले) र जनमत पार्टीले तीन/तीन मन्त्रालयमा दाबी गरिरहेका छन् । नेकपा (माओवादी केन्द्र)ले दुई मन्त्रालय मागेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि सरकारलाई समर्थन र विश्वासको मत दिएको छ । लोसपाले एक मन्त्रालयको नेतृत्व पाउने सम्भावना छ ।

माओवादी केन्द्र मधेस प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले प्रदेशका नेताहरूबीच सहमति हुन नसकेको बताए । सत्तासाझेदार दलहरूले अडान कायमै राख्दा सहमति हुन नसकेको बताइएको छ ।

“सत्तासाझेदारको मुख्य चार दलका एक/एकजना मन्त्री मुख्यमन्त्रीसँगै शपथग्रहण गर्ने कार्यक्रम थियो,” उनले भने, “तर, दलहरूबीच सहमति नभएपछि हामीले शपथग्रहण गरेनौँ ।”

सरकारको नेतृत्व गरिरहेको जसपा माओवादी केन्द्रलाई एउटा मात्र मन्त्रालय दिने मनस्थितिमा छ । तर, माओवादी दुई मन्त्रालय पाउनुपर्ने अडानमा अडिग छ । सोही कारण माओवादी केन्द्रीय नेताहरूको निर्णयको पर्खाइमा छ ।

अहिलेसम्म जसपाका सञ्जय यादव, एमालेका सरोज यादव र जनमत पार्टीका वसन्त कुशवाहाले मात्र मधेसको मन्त्रीका रूपमा शपथ लिएका छन् । उनीहरूको पनि विभाग तोकिएको छैन ।

स्रोतका अनुसार शपथग्रहण गरिसकेका एमालेका सरोजले भौतिक पूर्वाधार तथा विकास मन्त्रालय, जनमतका कुशवाहाले कृषि र जसपाका सञ्जयले अर्थ मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना छ । उनीहरू अहिले मधेस भवनमा सोही मन्त्रालयको निवासमा बसिरहेका छन् ।

प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  १०:२०
प्रतिक्रिया दिनुहोस्