site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जो गुरुराज र विश्वप्रकाशलाई हराउँदै कांग्रेसको प्रदेश नेतृत्वमा उक्लिए !

विराटनगर । नेपाली कांग्रेस प्रदेश नम्बर–१ संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भएका छन् । उनी नेता कृष्णप्रसाद सिटौलानिकट हुन् ।संस्थापन पक्षका अमृत अर्याल र संस्थापनइतर समूहका केदार कार्की थापाका प्रतिस्पर्धी थिए ।

गएको बिहीबार विराटनगरमा भएको पार्टी संसदीय दलको निर्वाचनमा थापाले १८, कार्कीले नौ र अर्यालले जम्मा दुई मत ल्याए । अर्यालले प्रस्तावक र समर्थकमध्ये एकजनाको मत नै पाएनन् । प्रदेश–१ कांग्रेस संसदीय दल २९ सदस्यीय छ ।

अहिले कांग्रेसमा युवाको नेतृत्व र मत मजबुत बनिरहेको छ । तर, थापाले बारम्बार युवालाई माथ खुवाउँदै अघि बढेको विगत छ । समग्र पार्टी र दलमा प्रदेशको बागडोर सम्हाल्ने जिम्मेवारीसम्म आइपुग्दा उनले कांग्रेसका ‘हेभीवेट’ युवालाई पराजित गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

थापा कांग्रेस प्रदेश नम्बर–१ को सभापतिमा निर्वाचित हुँदा प्रतिस्पर्धी युवा नेता गुरुराज घिमिरे एक मतान्तरले पराजित भए ।

क्षेत्रीय समिति हुँदै पार्टी राजनीतिमा उदाएका थापाले कांग्रेस झापाको सभापतिको नेतृत्वमा पुग्दा हालका महामन्त्री विश्वप्रकाश शर्मालाई पराजित गरेका थिए ।

को हुन् थापा ? 
२०३६ सालको जनमतसंग्रह, ०४२ को सत्याग्रह, ०४६ को जनआन्दोलन, २०६२/०६३ को लोकतान्त्रिक जनआन्दोलनमा थापा अग्रमोर्चामा थिए । उनी चार दशकअघिदेखि कांग्रेसको राजनीतिमा सक्रिय छन् । ०३६ सालको जनमतसंग्रहताका नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति बीपी कोइरालाको सुरक्षा दस्तामा तरुण–विद्यार्थीका रूपमा क्रियाशील थिए ।

थापा ०१५ मा सांसद फत्तेबहादुर बुढाथोकीमार्फत बीपी कोइरालाको नजिक पुगेका थिए । ०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिएर बीपी स्वदेश फर्किएपछि हरेक शनिबार उनले काठमाडौंमा तरुणहरूका लागि दिने राजनीतिक प्रशिक्षणमा थापा सहभागी हुन्थे ।

०६१ माघ १९ गते पूर्वराजा ज्ञानेन्द्र शाहको कदमलगत्तै उनी झापाको चारआलीस्थित तत्कालीन शाही नेपाली सेनाको कठोर सैन्य हिरासत (बंकरमा) थुनिएका थिए । ०६१ फागुन ७ गते कांग्रेस, नेकपा (एमाले)लगायत दलहरूले बिर्तामोडमा प्रजातन्त्र दिवस मनाउने तयारी गर्दैगर्दा सुराकीमार्फत जानकारी प्राप्त गरेको सेनाले बिहानैदेखि बख्तरबन्द गाडी, ट्यांक, मेसिनगनसहित मार्चपास गराएको थियो ।

राजाको निरंकुश सत्ताले संकटकाल घोषणा गरेर तीनजनाभन्दा बढी जम्मा हुन नपाउने, कुनै सभा–समारोह गर्न नपाउने उर्दी जारी गरेको थियो । बिर्तामोडस्थित घर पुगेका तत्कालीन कांग्रेस झापा सभापति सुधीरकुमार शिवाकोटी घरैबाट पक्राउ परे । उनलाई संयुक्त सुरक्षा फौज (युनिफाइड कमान्ड)ले शनिश्चरेको प्रदर्शनमा सहभागीहरूको खोजी गर्न गाडीमा राखेर शनिश्चरेतर्फ लग्यो ।

त्यही बेला जुलुसमा सहभागी भई कप्तानबारी शनिश्चरेस्थित घर पुगेका मजदुर नेता दीपक तामाङको स्वास्थ्यस्थिति बुझ्न थापा पनि पुगेका थिए । पार्टीको प्रेस विभागमा रही शाही कदमका विरुद्ध काम गरिरहेका पत्रकार कृण हुमागाईं पनि थिए । सेनाको चहलपहलको सुइँको पाएका तामाङले पनि ‘सेल्टर चेन्ज’ गरेका रहेछन् । उनी घर आउनासाथ तमाङको घर सेनाले घेरा हाल्यो । तामाङ र हुमागाईं सेनाको घेरा तोडेर उम्किन सफल भए । तर, सादा पोसाकमा रहेका शाही सेनाले नभाग्न चेतानी दिँदै फायर खोल्यो । हुमागाईंले हात उठाए । पक्राउ परे । तामाङ पनि समातिए ।

सेना उद्धव थापाको खोजीमा चियाबगानभित्र पस्यो । उनी गोलीबाट बच्न घोप्टो परेर सुतेका थिए । थापा सम्झन्छन्, “तैँ होइनस् राजाको विरोधमा जनता भड्काउने ? तँलाई अब पड्काउँछौँ, सेनाले धम्की दियो ।”

बन्दुकको कुन्दाले छातीमा हिर्कायो । इलाका प्रहरी कार्यालय अनारमनीका इन्सपेक्टर गोविन्द अधिकारीले सेनाको टोलीलाई ‘यो मान्छे हामीले खोजेको होइन रहेछ, यो यही चियाबगानको चौकीदार परेछ’ भने । पत्रकार  हुमागाईं छुटे ।

तामाङ र थापालाई सेनाले चारआली ब्यारेक लग्यो । सभापति शिवाकोटीलाई पनि लग्यो । थापाले विगत सम्झँदै भने, “हामी कांग्रेसका तीनैजना नेतालाई १०औँ दिनसम्म आँखामा पट्टी बाँधेर सेनाले अमानवीय यातना दियो ।”

थापा नेविसंघ, तरुण दलको नेतृत्वमा पुग्दै कांग्रेसको वडा सचिव, गाउँ, सचिव, क्षेत्रीय सभापति, जिल्ला सचिव, जिल्ला उपसभापति र दुई कार्यकाल जिल्ला सभापतिको जिम्मेवारीमा रहे ।

उनी भन्छन्, “अब प्रदेशको सभापति र संसदीय दलको नेताको जिम्मेवारीमा पनि छु । सबै साथी र नेतृत्वलाई मिलाएर अघि बढ्छु । प्रमुख विपक्षीको भूमिकामा खरो उत्रिन्छु ।”

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  १२:०१
प्रतिक्रिया दिनुहोस्