site stats
बाह्रखरी :: Baahrakhari
देश
‘एक्सन’बाट 'अल्टिमेटम'मा झरे बालेन, आफैँ अवैध संरचना हटाउँदै घरधनी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) डोजरसहित मैदानमा उत्रिएपछि घरधनी आफैले अवैध संरचना हटाउन थालेका छन् । नक्सापासविपरीत अण्डरग्राउण्ड पार्किङमा राखिएका पसल, टहरालगायत व्यापारिक प्रयोजन घरधनी आफैले हटाउन थालेका हुन् ।
 
महानगरले दैनिक अवैध संरचना निर्माण गर्ने घरधनीमाथि अपरेसन थाल्दा उनीहरुले समय माग गरेको महानगर सहरी सुव्यवस्था विभागका प्रमुख सुरज शाक्यले बताए । 

“न्युरोड, बानेश्वर, वनस्थली–ढुंगेधारा क्षेत्रमा अपरेसन भइसकेको छ । न्युरोड क्षेत्रमा व्यापारीलाई अल्टिमेटम दिएर छाडिएको छ,” शाक्यले भने, “अर्केड कम्प्लेक्स, रुप फेसन र माछापुच्छे« बैंकले सञ्चालन गरेको अवैध संरचना आफै हटाएका छन् ।”

नक्सापासविपरीत अन्डरग्राउन्डमा व्यापार व्यवसाय चलाउँदा आफूहरु डोजर चलाएर भत्काउन बाध्य भएको महानगरका नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले बताए । उनले हाल घरधनीहरुले आफै हटाउने भनेपछि लिखित कागजसहित अल्टिमेटममा छोडिएको बताए ।
 
“नगर प्रहरीको अल्टिमेटम सकिएपछि पुन व्यापारिक क्षेत्रमा अपरेसन हुन्छ । अल्टिमेटमपछि पनि अन्डरग्राउन्डको अवैध व्यापार नहटाएको पाइए नगर प्रहरी टोलीले हटाउँछ, भत्काउँछ,” एसपी पाण्डेले भने, “आवश्यकता अनुसार घरधनी र व्यापारीले अटेर गरे डोजर पनि चल्छ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

डोजरसहित मैदानमा उत्रिएका बालेनले अवैध संरचना भत्काउँदा पीडित भएकाहरुलाई सम्बन्धित घरधनीले नै क्षतिपूर्ति दिनुपर्ने बताएका थिए । पार्किङमा धेरै आम्दानी नभएको भन्दै घरधनीले अवैध संरचना बनाएर पसल सञ्चालन गर्न बाध्य बनाएको भन्दै व्यापारीहरु असन्तुष्ट छन् ।
 
महानगरले भत्काएका संरचनाहरुको व्यवस्थापन र सरसफाइ पनि घरधनीले नै गर्नुपर्ने एसपी पाण्डेले बताए । हाल कोटेश्वर, बानेश्वर, सुविधानगर, तीनकुने, न्युरोड, रत्नपार्क, भोटाहिटी, महाराजगञ्ज, बालाजु, कलंकी, चाबहील र जोरपाटी क्षेत्रका व्यापारीहरुले आफै अवैध संरचना हटाउन थालेका उनले बताए ।

नबिल बैंक न्युरोड शाखा, बी एण्ड बी कम्प्लेक्स, सुरज अर्केड, रुप फेसन, माछापुच्छ्रे बैंक न्युरोड शाखा पनि घरधनी आफैले हटाएको एसपी पाण्डेले बताए । त्यस्तै, न्युरोडस्थित बिरा कम्प्लेक्सको अन्डरग्राउन्ड गोदाम प्रयोजनमा ल्याउने गरी नक्सा पास भएको खुलेको छ । 
 
महानगरले साउन १ गते ३५ दिने अल्टिमेटम जारी गर्दै महानगरभित्रका अन्डरग्राउन्डमा सञ्चालित अवैध संरचना हटाउन भनेको थियो । बालेनले सुरुमा नर्भिक इन्टरनेसनल अस्पतालले बनाएको अवैध टहरादेखि सुरु गरेका थिए । तर, सर्वोच्च अदालतले तत्काल नर्भिकको टहरा नहटाउन अल्पकालीन आदेश जारी भएपछि बालेन झस्किएका थिए ।
 
नर्भिकको संरचना हटाउन नमिलेपछि नयाँ तरिकाबाट अघि बढेका बालेनले भदौ ६ गतेदेखि बानेश्वर क्षेत्रका अवैध संरचनामा डोजर चलाए । सुनधारास्थित काठमाडांै मल, न्युरोडको आरबी कम्प्लेक्स, बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्स र बालाजु–ढुंगेधारा क्षेत्रका अवैध संरचनामा महानगरको डोजर चलेको थियो ।
 
ठाउँको ठाउँ ‘एक्सन’मा उत्रँदै आएको बालेनको टोली अहिले अल्टिमेटममा झरेको छ । बालेनको निर्देशनमा नगर प्रहरीले काम गर्दै आएको छ । आइतबार भने रत्नपार्क–भोटाहिटीको अवैध संरचनामा नगर प्रहरीको हम्मर बजारिएको थियो । चार दिनदेखि बालेन फिल्डमा निस्किएका छैनन् । तर, अवैध संरचना हटाउने/भत्काउने अभियान जारी छ ।
 
वान ९९ कम्प्लेक्स, महर्जन कम्प्लेक्समा पनि नगर प्रहरी टोली पुग्नेछ । विशाल बजार बसन्तपुरतर्फको भवनको नक्सापासको लागि पनि महानगरले २४ घण्टे अल्टिमेटम दिएको थियो । सो अल्टिमेटम हिजो नै सकिसकेको छ । 

महानगरभित्रका ३०० बढी व्यापारिक भवनहरुमा अवैध संरचना बालेनको निशानामा छन् । 

भवन निर्माण मापदण्ड २०६४ अनुसार व्यावसायिक सार्वजनिक भवन, तारे होटल, सिनेमा हल, थियटर, व्यापारिक कम्प्लेक्स, नर्सिङ होम, पोलिक्लिनिक, सरकारी/अर्धसरकारी कार्यालयका लागि जमिनको २० प्रतिशत भाग पार्किङको लागि छुट्याउनुपर्छ । त्यस्तैै, स्कुल, क्याम्पसजस्ता शैक्षिक संस्थाका लागि १५ प्रतिशत भाग छोड्नुपर्छ ।

भवन निर्माण मापदण्ड २०७५ अन्तर्गतको बेसमेन्टसम्बन्धी व्यवस्थामा बेसमेन्टसहितको नक्सापासको हकमा पुरानो सहरी क्षेत्रमा जमिनमुनि एक तल्ला मात्रै बेसमेन्ट र अन्य क्षेत्रको हकमा जमिनमुनि दुई तलासम्मको बेसमेन्ट निर्माण गर्ने भएमा सधियार तर्फको सेट ब्याक कम्तीमा तीन मिटर छोड्नुपर्छ । 

व्यापारी र घरधनीले महानगरको अवैध संरचना हटाउने अभियानलाई साथ दिएर आफै हटाउन एसपी पाण्डेले आग्रह गरेका छन् । अवैध संरचना हटाउने महानगरको अभियान जारी रहेकोे विभागीय प्रमुख शाक्यले बताए । 

प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  ११:४२
प्रतिक्रिया दिनुहोस्