site stats
बाह्रखरी :: Baahrakhari
विचार
जगन्नाथको जित

यसपटकको स्थानीय निर्वाचनका दुईवटा महानगरका प्रमुखका उमेदवार बढी चर्चामा आए । एक जना भद्र अवज्ञाको उदाहरणका रूपमा र अर्का अभद्रताको दृष्टान्त बन्न पुगे ।  

चितवनको भरतपुर महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलको सिद्धान्त निष्ठा र दृढता नेपाली कांग्रेसको ऐतिहासिक परम्पराअनुरूपको उल्लेखनीय उदाहरण बन्यो । यसैगरी काठमाडौं महानगरपालिका प्रमुखमा नेकपा (एमाले)का उमेदवार केशव स्थापितको ‘अभद्रता’ र आक्रोश पनि नकारात्मक उदाहरणका रूपमा स्थापित भयो ।

कुनैबेला आफूलाई ‘कालभैरव’का साधक पनि बताउने स्थापितको उद्दण्डता र अभद्रता नौलो वा अनौठो होइन । यसपटक उनको पुरानै रूप फेरि प्रकट भएको हो । पुराना अभद्रताहरू थाहा नपाउनेका लागि अहिलेकै उद्दण्डता पनि स्थापितका सम्बन्धमा धारणा बनाउन पर्याप्त हुन्छ । ‍काठमाडौंका मतदाताको विवेकको कसी मतदानका दिन लाग्नेछ । यसैले अहिलेको चर्चा भद्र विद्रोही जगन्नाथ पौडेलमा केन्द्रित गरौँ ।
 
चितवन कांग्रेसको चाहना

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सत्तारूढ गठबन्धनले निर्णय गर्नुअघि नै चितवन कांग्रेसका नेता तथा कार्यकर्ताले यसपटक भरतपुर महानगरपालिका अरू पार्टीलाई दिन नसक्ने निर्णय गरेका थिए । उनीहरूले आफ्ना समर्थक र मतदाताको अठोट आग्रहका रूपमा केन्द्रका सबै नेतालाई अवगत पनि गराएका थिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय कार्यकर्ताको चाहना र भावनाको उपेक्षा गरे ।  देउवाको सत्ता मोह सामु चितवनका कार्यकर्ताको अठोट र आग्रह टिक्न सकेन ।

दाहालको प्रतिष्ठा जोगाउन कांग्रेसको बलिदान

सत्तारुढ गठबन्धनका प्रमुख सेनापति नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भरतपुर महानगरको प्रमुख पदलाई प्रतिष्ठाकै विषय बनाए । हुन पनि उनकी छोरी त्यहाँ प्रमुख थिइन् । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसले नै सघाएर रेणु दाहाललाई महानगरपालिका प्रमुखमा चुनाव जिताएको थियो । सत्ता गठबन्धन कायम राख्न जस्तोसुकै मूल्य चुक्ता गर्न पनि तम्सेका नेपाली का‌ग्रेसका शीर्ष नेताहरूका लागि भरतपुरका कांग्रेसहरूको पीडा मूल्यहीन हुनु अस्वाभाविक भएन ।

जगन्नाथको भद्र अवज्ञा र कांग्रेसको कारबाही

गएको स्थानीय निर्वाचनमा माओवादीकी उमेदवारलाई जबर्जस्ती मत दिन लगाइएपछि अर्धमुर्च्छित अवस्थामा रहेको चितवनमा कांग्रेसको अस्तित्व र कार्यकर्ताको मनोबल बचाउन सम्भवतः जगन्नाथ पौडेलको उमेदवारी ‘सञ्जीवनी’ हुनसक्छ । यही गुन नेपाली का‌ग्रेसले पौडेलसँगै पञ्चायत कालमा चितवन कांग्रेसका पर्याय बनेका कृष्णलाल सापकोटालगायतका ‘सतीसाल’जस्ता निष्ठावान् नेतालाई निष्कासन गरेर तिरेको छ ।
 
पार्टीका उमेदवारविरुद्ध उमेदवारी दिए यसरी सदस्यता खोस्नु पनि स्वाभाविकै होला । तर, भरतपुर महानगरपालिका प्रमुखमा त नेपाली का‌ग्रेसको कोही उमेदवार छैनन् । जगन्नाथले एमालेसँग गठबन्धन गरेका पनि हैनन् । यसैले उनलाई पार्टीबाट निष्कासन गर्ने वैधानिक अधिकार सभापति देउवालाई छैन ।
 
गठबन्धनको आदेश स्वीकार नगर्दा पनि पार्टीले कारबाही गर्नसक्ने प्रावधान सम्भवतः नेपाली कांग्रेसको विधानमा पनि छैन । पौडेलको उमेदवारी नेपाली कांग्रेसको सिद्धान्त र आदर्शविपरीत पनि छैन ।  यसैले पौडेल, सापकोटा र चितवन कांग्रेसका अरू नेतामाथि गरिएको कारबाही अनैतिक र अलोकतान्त्रिक देखिन्छ । यसै पनि कांग्रेस केन्द्रीय समितिले त तालमेलको अधिकार स्थानीय तहलाई दिने निर्णय गरेको हो । केन्द्रीय समितिको निर्णय उल्ट्याउन त महासमितिले मात्र सक्नुपर्ने हो ।


देउवा र दाहालको हैकम नि !

गठबन्धनका नेताहरू यसपटकको निर्वाचनलाई प्रतिगमन विरुद्धको युद्धका रूपमा चित्रण गर्न खोज्दैछन् । भैगो उनीहरूका कुरा एकछिन मानौला । ओलीको हैकमी शैली प्रतिगमन हुने र देउवा, दाहालको हैकम लोकतान्त्रिक हुने त पक्कै होइन होला । ओलीको हैकमविरूद्ध विद्रोह गरेको दाबी गर्नेहरूले पनि हैकम चलाउनै खोजे भने स्वाभिमानी नागरिकलाई कसरी सह्य होला र ?


नैतिकरूपमा जितिसके जगन्नाथले !

चुनावमा जगन्नाथ पौडेलको भद्र अवज्ञाको कति सम्मान होला त्यो मतदानपछि थाहा हुनेछ । परन्तु, कांग्रेसका कार्यकर्ता र समर्थकमात्र होइन जनसाधारणको मन भने उनले अहिले नै जितिसकेका छन् । उनमा धेरैले सच्चा कांग्रेसको छवि देखेका छन् । अर्थात्, पार्टीका पदाधिकारी उनीसँग नैतिकरूपले पराजित भएका छन् । उनलाई फकाउने, तर्साउने, धम्क्याउने धेरै चलखेल गर्दा पनि डगाउन नसकेपछि पक्कै पनि नेताहरू आत्मग्लानिले स्वयं विचलित भए होलान् ।  

 

र अन्त्यमा

कांग्रेसका नेताहरूलाई लागेको होला गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला मिलेर निर्णय गर्दा त सबैले मान्थे । अहिले पनि किन नमान्ने रु गुरुले अभक्ष भोजन गरेको देखेपछि चेलाहरूले पनि खाइदिएछन् । केहीपछि गुरुले सबै बान्ता गरेर फालिदिए । चेलाहरू गुरुको हैसियतमा पुगेका थिएनन् । उनीहरूले फाल्न सकेनन् र गुरुको श्राप भोगे  भन्ने कथा शेरबहादुर देउवा र रामचन्द्र पौडेलले स्मरण गरे हुन्थ्यो ।
 

प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९  १२:२४
प्रतिक्रिया दिनुहोस्