site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गठबन्धन भए वीरगञ्जमा कसले मार्ला बाजी ?, प्रतिपक्षी दललाई कठिन कि सहज ?

जनकपुरधाम । देशमा चुनावी महोल गर्माएको छ । दलहरू चुनावलक्षित कार्यक्रममा व्यस्त छन् । देशको ६ महानगरमा जित हात पार्न सत्तारूढ दलहरूको कसरत जारी छ । शीर्ष नेताहरू महानगरमा कुन दलको उमेदवार उठाउँदा जित सहज हुन्छ भनी छलफल गरिरहेका छन् । तर, अझै निर्णय नजिक पुगिसकेका छैनन् ।

चासोपूर्वक हेरिएका मधेस प्रदेशको एक मात्र वीरगञ्ज महानगरमा सबैको ध्यान केन्द्रित छ । गठबन्धन भए वीरगञ्जमा जनता समाजवादी पार्टी (जसपा)को उमेदवार मेयरमा उठ्ने सम्भावना बढी छ । तर, यसअघिको चुनावमा दुई हजार १९६ मतले मात्रै पराजित भएको नेपाली कांग्रेस के गर्ला ?

कांग्रेसका पर्सा सभापति जर्नादन सिंह क्षेत्री केन्द्रलाई गठबन्धन नगर्न सुझाएको बताउँछन् । वीरगञ्जमा कांग्रेसलाई गठबन्धनको आवश्यकता नरहेको उनको ठहर छ । "विगतभन्दा कांग्रेसको स्थिति धेरै राम्रो छ । हामीले प्रदेश र केन्द्रका नेताहरूलाई पनि त्यही भनिरहेका छौँ," उनले भने, "गठबन्धन भए पनि हामीले जोडदार रूपमा यहाँ कांग्रेसको उमेदवार उठाउन माग गर्छौं ।"

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वीरगञ्जमा कांग्रेस बलियो र एक्लै जित्न सक्ने उनको दाबी छ । "केन्द्रको निर्णय मान्छौँ । तर, मधेस कांग्रेसमय रहेकाे सन्देश दिन वीरगञ्जमा कांग्रेस आउनुपर्छ भन्ने मेरो धारणा हो," उनले भने, "यो कुरा केन्द्रले बुझेन भने कांग्रेसलाई घाटा हुन्छ । शीर्ष नेताले बुझेन भने प्रदेश र प्रतिनिधिसभाको चुनावमा असर पर्न सक्छ ।"

नेकपा (माओवादी केन्द्र) पर्साका इन्चार्ज विजय प्रसाद महतो गठबन्धन हुने सम्भावना न्यून रहेको बताउँछन् । स्थानीय तहमा अकांक्षी बढी भएकाले गठबन्धन भए पनि समर्थन नहुने गरेको उनको बुझाइ छ ।

"जिल्लामा सत्तारूढ दलबीच गठबन्धन गर्न २/३ पटक प्रयास पनि गर्‍यौँ । तर, सहमति हुन सकेन," उनले भने, "किनभने अकांक्षी धेरै छन् । कतिलाई बस्न भन्छु । अवसर दिएन भने बागी हुने/अन्य पार्टीमा लाग्ने गर्छन् ।" अहिलेसम्म एक्लै चुनावी मैदानमा जाने हिसाबले तयारी गरिरहेको उनले बताए । 

वीरगञ्जमा गठबन्धन भए सत्तारूढ दलले शतप्रतिशत जित्ने जसपाका युवा नेता राजेशमान सिंहको विश्वास छ । अहिलेसम्म आन्तिरक रूपमा एक्लै लड्ने तयारी गरे पनि गठबन्धनकै आशमा बसेको उनले बताए ।

"केन्द्रले अहिलेसम्म कुनै ठोस निर्णय गरेको छैन । त्यही भएर आन्तिरक रूपमा एक्लै जाने तयारी छ," उनले भने, "तर गठबन्धन हुने निश्चित छ । दुई/तीन दिनमै गठबन्धनको निर्णय आउँछ । हामी त्यहीअनुसार अगाडि बढ्नेछौँ ।"

वीरगञ्जमा सत्तारूढ दलमध्ये जसपा नै बलियो रहेको उनको दाबी छ । गठबन्धन गरी चुनावी मैदानमा गए सत्तारूढ दलको उमेदवारबाहेक अरू जित्ने सम्भावना नरहेको उनको विश्वास छ ।

सत्तारूढ दलहरूले गठबन्धन गर्ने सुरसार गरेपछि प्रतिपक्षी दलले पनि गठबन्धन गर्ने गृहकार्य गरिरहेका छन् । जसपा परित्याग गरी नेकपा (एमाले)मा गएका वर्तमान मेयर विजय सरावगीले गठबन्धन केन्द्रबाट हुने बताउँछन् । उनले लोकतान्त्रिक समाजवादी (लोसपा) र कमल थापा नेतृत्वको राप्रपासँग चुनावी तालमेल गर्ने गृहकार्य भइरहेको जानकारी दिए ।

उनकाअनुसार अहिलेसम्म वीरगञ्जमा एमाले एक्लै चुनावी मैदानमा जाने तयारी गरिरहेको छ । तर, सत्तारूढ दलहरूले गठबन्धन गरे एमाले पनि गठबन्धन गरी अगाडि बढ्ने रणनीतिमा छ ।

सत्तारूढ दलहरूले गठबन्धन गरे कुनै दलसँग लोसपा पनि गठबन्धन गर्ने तयारीमा छ । लोसपाका नगर अध्यक्ष ओमप्रकाश सराफले पनि सत्तारूढ दलको निर्णयलाई पर्खिरहेको बताए ।

"सत्तारूढ दल गठबन्धन गरेर आए भने हामीले पनि गठबन्धन गर्ने अवस्था आउँछ । तर, अहिलेसम्म एक्लै जाने हिसाबले अगाडि बढिरहेका छौँ," उनले भने, "हाम्रो पार्टीले केन्द्रमा नीतिगत रूपमा कुनै दलसँग गठबन्धन नगर्ने निर्णय गरेको छ । तर, आवश्यकताको अधारमा कुनै दलसँग तालमेल गर्ने छुट दिएको छ । आवश्यकता र औचित्य आयो भने गठबन्धन गर्छौं ।"

सत्तारूढले गठबन्धन गरे बाँकी रहेको एमाले राप्रपासँग तालमेलको बाटो खोल्ने उनको भनाइ छ । 

वीरगञ्जमा कुल एक लाख २४ हजार ६४७ मतदाता छन् । गत चुनावभन्दा १६ हजार मतदाता यसपालि थपिएका छन् । ०७४ को चुनावमा तत्कालीन संघीय समाजवादी फोरम (अहिलेको जसपा)ले पाएको भोट १९ हजारभन्दा बढी छ । विजयकुमार गच्छेदार नेतृत्वको लोकतान्त्रिक फोरमसहित कांग्रेसको भोट २५ हजारभन्दा बढी थियो । अहिले लोकतान्त्रिक फोरम कांग्रेससँग मिलिसकेका छ । यद्यपि, उक्त पार्टीका मेयरमा प्रत्यासी विमल श्रीवास्ताव लोसपामा छन् ।

माओवादी आठ हजार हाराहारीमा मत पाएको थियो । यो जोड्दा ५३ हजारभन्दा बढी हुन्छ । तत्कालीन राजपाले पाएको १२ हजार पूरै मत र एमालेको आठ हजार मान्दा पनि अर्को गठबन्धनमा २० हजार हाराहारी मात्रै हुन आउँछ । यद्यपि, तत्कालीन राजपाका थुप्रै नेता अहिले जसपामै छन् ।

प्रकाशित मिति: मंगलबार, चैत २९, २०७८  ०६:५३
प्रतिक्रिया दिनुहोस्