site stats
बाह्रखरी :: Baahrakhari
देश
जनकपुर–जयनगर रेल : भोलिदेखि महिनामा १५ दिनमात्रै चल्ने

जनकपुरधाम । एक महिनादेखि जनकपुर–जयनगर रेल 'ड्रायरन' गरिरहेको छ । दिनमा एकपटक जयनगरबाट कुर्थासम्म यात्रुविना रेल ओहोरदोहोर गरिरहेको छ । गत फागुन १ गतेदेखि उद्घाटन नहुँदै 'ड्रायरन' सुरु गरिएको थियो ।

'ड्रायरन' सफल भएपनि उद्घाटन मिति अझै टुङ्गो लाग्न नसकेको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरन्जन झाले जानकारी दिए । उनकाअनुसार कानुन अभावमा उद्घाटन तथा यात्रुसहित सञ्चालनको मिति तय हुन सकेको छैन ।

"प्राविधिक रूपमा सबै तयारी भइसकेको छ । कर्मचारी पनि नियुक्त भएर काममा खटिसकेका छन्," उनले भने,"भाडादर पनि निर्धारण भइसकेको छ । अध्यादेश निष्क्रिय भएपछि उद्घाटन मिति तय हुन सकिरहेको छैन ।'

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विभागले फागुन दोस्रो साता नै दुवै देशको प्रधानमन्त्रीबाट उद्घाटन गराउने तयारी गरेको थियो । तर कानुन अभावसँगै नेपालको राजनीतिक उतारचढाव र भारतको चुनावको कारण उद्घाटनमा ढिलाइ भएको उनको तर्क छ ।

गत मंसिर १५ गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेलवे सञ्चालनसम्बन्धी अध्यादेशको प्रस्ताव ल्याएकी थिइन् । ६० दिनभित्र अध्यादेश सम्बन्धित मन्त्रीले सदनमा पेस गरिसक्नु पर्ने कानुनी प्रावधान छ । तर, सो अवधिमा सदनमा रेलवे अध्यादेश पेस नभएपछि स्वतः निष्क्रिय भएको थियो । 

आम्दानी शून्य, खर्च ३० लाख बढी
एक महिनाको अवधिमा करिव ३० लाख जति खर्च भएको महाप्रबन्धक झाको अनुमान छ । अहिलेसम्म कुनै पनि कामको भुकुतानी नभएकाले यकिन लागत खर्च भन्न नसकिने उनले बताए । उनकाअनुसार प्रति दिन १२५ लिटर तेल खर्च भइरहेको छ । त्यो हिसाबले २५ सय देखि तीन हजार लिटरसम्म तेल एक महिनामा खर्च भएको छ भने कार्यालय व्यवस्थापन र कर्मचारीमा बढी खर्च भएको छ ।

अहिले ५८ नेपाली र १६ जना भारतीय कर्मचारी खटिरहेका छन् । कर्मचारी खर्च नै २० लाख भन्दा बढी रहेको उनले जनाकारी दिए ।

महिनामा १५ दिन मात्रै
भोलिदेखि एक दिन बिराएर रेल चलाउने विभागको तयारी छ । खर्च थेक्न नसकेर विभागले एक दिन बिराएर महिनामा १५ दिन रेल चलाउन लागिएको हो । विदाको दिन रेल चल्ने गरेको छैन् ।

"रेलवे उद्घाटनको मिति तय हुन सकिरहेको छैन । आम्दानी नभएसम्म लागत खर्च कम गर्ने उद्देश्यले एक दिन बिराएर रेल चलाउने छौँ," महाप्रबन्धक झाले भने, "सरकारले अध्यादेश पुनः ल्याउने तयारी पनि गरेको छ । कानुन नभएसम्म एकदिन बिराएर नै चलाउछौँ ।"

'ड्रायररन' सफलतापुर्वक सञ्चालन भइरहेपनि जनचेतनाको अभाव देखिएको उनले बताए । "पशु चौपाया अझै लिकमै हुन्छन् । जसको कारण अहिले ४५ मिनेट ढिलो भइरहेको छ," उनले भने, "रेलवे लिक क्रस गरी बनाइएको बाटोले गर्दा स्लो गतिमा रेल चलाउनु परेको छ । खाली ठाउँमा ५० र बजार क्षेत्रमा १० देखि १५ किलोमिटर प्रतिघण्टाको स्पिडमा चल्ने गरेको छ ।"

जयनगरदेखि कुर्थासम्म करिब ३५ किलोमिटर छ । ०७७ असोज २ गते भारतीय कोकंण रेलवे कम्पनीसँग ८४ करोड ६५ लाख रूपैयाँमा खरिद गरिएको थियो । रेलमा दुई सेट इन्जिनसहित १० वटा बोगी छन् । दुवै बोगीले करिव १५ सय यात्रु बोक्ने क्षमताका छन् ।

जनकपुर–कुर्था–जयनगर सामान्य सिटमा प्रति यात्रु ७० रूपैयाँ र एसी सिटमा तीन सय रूपैयाँ भाडा निर्धारण गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  १९:५२
प्रतिक्रिया दिनुहोस्