site stats
बाह्रखरी :: Baahrakhari
देश
पाँच लाख जन्ती भारतबाट आउने

जनकपुरधाम । सीता राम विवाहपञ्चमीको तयारी सुरु भएको छ । अर्को सातादेखि सुरु हुने सप्ताहव्यापी विवाहपञ्चमीको तयारी अन्तिम चरणमा पुगेको छ ।

जानकी मन्दिरका सहायक महन्थ रामरोसन दासका अनुसार अन्तिम तयार भइरहेको छ । उनका अनुसार यसवर्ष सीता राम विवाहपञ्चमीमा भारत (अयोध्या)बाट करिब पाँचलाख जन्ती आउने उनको दाबी छ ।

‘अयोध्यामा हामीले निमन्त्रणा गरेका थियौं । उताबाट आएको जानकारीअनुसार विभिन्न साधुसन्तसहित करिब पाँचलाख जन्ती आउने भनेका छन्,” उनले भने, “राजनीतिक व्यक्तिलाई हामीले निमन्त्रणा गरेका छैनौँ । स्वेच्छाले आउने व्यक्तिलाई हामीले रोक्न सक्दैनौं ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

३० लाख खर्च हुने अनुमान

यसवर्ष सीताराम विवाह पञ्चमीमा करिब ३० लाख खर्च हुने अनुमान गरिएको छ । तीनै तहका सरकारमध्ये यसवर्ष कसैले पनि विवाहपञ्चमी मनाउन आर्थिक सहयोग नगरेको महन्थ रोसन दासले गुनासो गरे ।

जानकी मन्दिरको आन्तरिक स्रोत र विभिन्न शुभेच्छुक दाताबाट विवाह पञ्चमी मनाउने मन्दिरको तयारी छ ।

जानकी मन्दिरको प्राङ्गणमा सोमबारदेखि राम कथा प्रवचन र रामलीला सुरु भइसकेको छ । मंसिर १७ गते नगर दर्शन, १८ गते फुलबारी लीला, १९ गते धनुष यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते स्वयम्बर तथा विवाह र २३ गते रामकलेवा विधि गरी विवाहपञ्चमी सम्पन्न हुने तालिका रहेको छ ।

१२ सय प्रहरी परिचालन हुने

सप्ताहव्यापी विवाहपञ्चमीमा सुरक्षा व्यवस्था कडा बनाइने छ । यस वर्ष १२ सय नेपाल प्रहरी विवाहपञ्चमीमा सुरक्षाको लागि खटाइने धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

५१ जोडीको सामूहिक विवाह हुने

विवाह पञ्चमीको अवसरमा ५१ जोडीले विवाह गर्ने तयारी गरेका छन् । विश्व हिन्दु परिषद् नेपालको अगुवाइमा मंसिर २३ गते जानकी मन्दिर प्राङ्गणमा ५१ जोडीले सामूहिक विवाह गर्ने तयारी गरिएको छ ।

दाइजो प्रथा अन्त्य गर्न सामूहिक विवाहको आयोजना हुँदै आएको छ । उनीहरुको विवाहमा हुने खर्च आयोजक संस्थाले बेहोर्ने व्यवस्था छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८  १२:४३
प्रतिक्रिया दिनुहोस्