site stats
बाह्रखरी :: Baahrakhari
विशेष
खोपमा अनुदानकै भर, सरकारले खरिद गर्नै सकेन !
फाइल तस्बिर

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप लिन नेपालमा अहिले झन्डै १ करोड ७९ लाख नागरिक पर्खाइमा छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जेठ २१ गतेसम्मको तथ्यांक अनुसार नेपालमा हालसम्म ६ लाख ९१ हजार १८४ जनाले दुवै डोज र २१ लाख १३ हजार ८० जनाले पहिलो डोज खोप लिएका छन् ।

६५ वर्षमाथिका करिब १३ लाख १० हजार नागरिक कोभिशिल्ड खोपको दोस्रो डोज लगाउने पर्खाइमा छन् । ६० देखि ६४ वर्षका नागरिकलाई सरकारले मंगलबारदेखि भेरोसेल खोपको पहिलो डोज दिइँदैछ  । बाँकी नागरिकलाई कोभिड १९ विरुद्धको खोप लिनका लागि सरकारले अनलाइन फारम उपलब्ध गराएको छ । तर, यसरी फारम भर्नेहरुले खोप कहिले पाउने निश्चित छैन  । त्योभन्दा अन्योल कोभिशिल्डको पहिलो डोज लगाएकाहरुले दोस्रो डोज कहिले पाउने भन्ने छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कोभिशिल्डको विकल्प खोज्दै सरकार
नेपाल सरकारले २० लाख डोज कोभिशिल्ड खोप खरिदका लागि भारतीय उत्पादक कम्पनी  सिरम इन्स्टिच्युट अफ इन्डियालाई रकमभुक्तानी गरेको थियो । भुक्तानी गरेको चार दिनभित्रै पहिलो १० लाख डोजखोप पठाएको सिरमले साढे तीनमहिना बितिसक्दा पनि बाँकी १० लाख डोजखोप पठाएको छैन । आफ्नै देशमा कोभिड संक्रमितको संख्या उच्च भएपछि भारतले अन्य देशमा खोप निर्यातमा अहिलेलाई रोक लगाएको छ । 

विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रमलाई समेत सिरमले खोप नदिने भएपछि नेपालमा कोभिसिल्डको विकल्प खोज्न सरकार यतिखेर लागि परेको छ । विकल्पका रुपमा कोभिसिल्ड खोप विकास गर्ने अस्ट्राजेनिका कम्पनीकै अन्य खोप ल्याउन सरकार पहल गरिरहेको छ । अस्ट्राजेनिकाको खोप खरिद गरेका तर प्रयोगमा नल्याएका अमेरिका, डेनमार्क लगायतका ६ भन्दा बढी देशसँग स्टक रहेको खोप नेपाललाई उपलब्ध गराइदिन आग्रह गर्दै स्वास्थ्य सेवा विभागले पत्राचार गरेको छ । आइतबार डेनमार्क सरकारले युनिसेफमार्फत् नेपाललाई १४ लाख डोज अष्ट्राजेनिकाको खोप दिने औपचारिक पत्र पठाएको विभागले जनाएको छ । विभागको परिवार कल्याण महाशाखाले आइतबार नै सूचना जारी गर्दै पहिलो डोज कोभिसिल्ड खोप लगाएकाहरुलाई दोस्रो डोज अस्ट्राजेनिकाकै उत्पादन अर्को खोप दिइने जनाएको छ । “डेनमार्कबाट आउने खोप नै ६५ वर्षमाथिका नागरिकलाई दिइने हो ?”बाह्रखरीको प्रश्नमा महाशाखा प्रमुख डा. तारानाथ पोख्रेल भन्छन् “हामीले अस्ट्राजेनिकाको खोप ल्याउन धेरैवटा मुलुकसँग पहल गरिरहेका छौं, जहाँबाट छिटो आइपुग्छ त्यही खोप दिने हो ।” 

एउटै कम्पनीले उत्पादन गरेको खोपको फर्मुला एउटै हुने हुँदापहिलो डोज कोभिशिल्ड लगाएकाहरुलाई दोस्रो डोज अस्ट्राजेनिकाकै अर्को खोप दिन लागिएको डा. पोख्रेलको दाबी छ । ६५ वर्षमाथिका नागरिकले पहिलो डोज लगाएको १२ हप्ता कटिसकेको छ । तर, १६ हप्ता गुज्रिने नदिने प्रयासमा सरकारले बताएको छ । “भारतबाट यो वर्ष सन् २०२१ भित्र कोभिसिल्ड खोप आउने सम्भावना निकै कम छ, त्यसैले हामी विकल्पको खोजिमा लागेका छौं,” उनले भने ।

खोपमा अनुदानकै भर 
नेपालमा पहिलो पटक भारत सरकारले १० लाख डोज कोभिशिल्ड खोप अनुदानमा प्रदान गरेको थियो । विश्व स्वास्थ्य संगठनको ग्लोबल भ्याक्सिन अलायन्स कोभ्याक्स कार्यक्रम अन्तरगत नेपालले पाउने २२ लाख ५६ हजार डोजमध्ये ३ लाख ४८ हजार डोज आइसकेको छ । चीन सरकारले नेपालाई दुईपटक गरी जम्मा १८ लाख डोज भेरोसेल खोप अनुदानमा उपलब्ध गराएको छ । नेपालले हालसम्म ३१ लाख ४८ हजार डोज खोप चीन र भारतबाट अनुदानमा पाएको छ । नेपालमा हालसम्म भारतका दुई, चीनका दुई र रुसको एक गरी पाँचवटा खोपले आपत्कालीन प्रयोग अनुमति पाइसके पनि खरिद गरेको खोप भने भारतबाट १० लाख डोजबाहेक अन्यत्रबाट आउन सकेको छैन । 

पछिल्लो समय अमेरिकाले आफ्नो देशमा स्टक रहेको ७० लाख डोज खोप दक्षिण एसिया तथा दक्षिण पूर्वी एसियाली राष्ट्रहरुलाई दिने घोषणा गरेको हो । तर, अमेरिकाले छुट्याएका ११ मुलुकमध्ये नेपालको भागमा कति खोप पर्छ त्यो अहिलेसम्म निश्चित भएको छैन । 

त्यसैगरी बेलायतको संसदमा नेपाललाई खोप दिनेबारे बहस चलेको भएपनि अहिलेसम्म पनि नेपालले खोप पाउने–नपाउने निश्चित छैन । खोप आयातकै लागि औषधि व्यवस्था विभागले तीनवटा निजी कम्पनीलाई आयात अनुमति दिइसकेको छ । तीमध्ये बायोमेटिक्स कम्पनीले यही महिनाभित्र १० लाख डोज खोप दिने जनाएको छ भने अन्यकम्पनीले अहिलेसम्म खोप ल्याउने आधिकारिक जानकारी गराएका छैन् । यसबीचमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनलाइन फारम भर्नेहरुले तत्काल कोभिड १९ विरुद्धको खोप नपाउने जनाइसकेको छ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  ०८:२६
प्रतिक्रिया दिनुहोस्