
काठमाडौं । नेपालमा कोभिड संक्रमणले महामारीको रूप लिएपछि सरकारले नियन्त्रणका लागि जुट्न सबै क्षेत्रलाई आह्वान गर्यो । संक्रमण दर उच्च हुँदै गएपछि आफ्नो क्षेत्रका संक्रमितको व्यवस्थापन, कन्ट्याक ट्रेसिङ समुदायमा परीक्षण तथा सचेतना कार्यक्रमहरू सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिइयो । विशेषगरी कोभिडको दोस्रो लहर समुदायस्तरमा नै फैलिएपछि स्थानीय तहहरूलाई सक्रिय गराइयो ।
यो क्रममा अधिकांश प्रदेश र पालिकाहरूले निःशुल्क परीक्षणदेखि आइसोलेसन व्यवस्थापन तथा गम्भीर उपचारमा सहजीकरण सम्मका महत्वपूर्ण कामहरू गरेको पाइयो । आइसोलेसन व्यवस्थापन र कोभिड नियन्त्रणका अन्य कार्यक्रममा उदाहरणीय बनेका स्थानीय तहमध्येको एक हो ललितपुरको ‘गोदावरी नगरपालिका’ ।
गोदावरीमा कोभिड संक्रमणको अवस्था
काठमाडौं उपत्यकामा कोभिड संक्रमितमध्ये दोस्रो धेरै संक्रमण फैलिएको जिल्ला हो ललितपुर, जहाँ जेठ १७ गतेसम्म सक्रिय संक्रमितको संख्या ६ हजार ३९१ तथा जम्मा संक्रमित हुनेकाे संख्या ३३ हजार ३३२ पुगेकाे छ । ४३८ जनाको मृत्यु भइसकेको छ ।
दक्षिणी ललितपुरको गोदावरी नगरपालिकामा यही मितिमा संक्रमितको संख्या २ हजार ६ सय पुगेको तथा ६ सय सक्रिय संक्रमित रहेको नगरपालिकाका जनस्वास्थ्य निर्देशक सुदर्शन बजगाइँ बताउँछन् । नगरपालिका भित्रका दुईवटा अस्पताल र एउटा आइसोलेसनमा गरी अहिले ३५ जना संक्रमितको उपचार भइरहेको छ भने अहिलेसम्म कोभिड संक्रमणका कारण ४५ जनाको मृत्यु भएको छ । तर संक्रमितको व्यवस्थापन र समुदायमा संक्रमण नियन्त्रणमा भने गोदावरी ललितपुर जिल्लाकै अग्रणी पालिका भएकोे ललितपुर जिल्ला स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन उपेन्द्र अर्याल बताउँछन् ।
संक्रमण नियन्त्रणका लागि बलियो पूर्वतयारी
गोदावरी नगरापालिकाले आर्थिक वर्ष २०७७/०७८ मा विपद् व्यवस्थापन कोषमा ३ करोड रुपैयाँ विनियोजन गरेको थियो । दोस्रो लहरको संक्रमण सुरु भएपछि नगरअन्तर्गतको बज्रबाराही चापागाउँ अस्पतालमा कोभिड उपचार सेवा विस्तारका लागि २ करोड रुपैयाँ नगरले छुट्यायो । बाँकी ३ करोड संघ सरकारको सहयोगले अस्पतालमा संक्रमितको उपचारका लागि हाइ डिपेन्डेन्सी युनिट (एचडीयू) तयार पारियो ।
टिकाभैरवस्थित चापागाउँ बज्रबाराही अस्पतालसलाई कोभिड अस्पतालको रूपमा प्रयोग गरियो भने ५० बेडको आइसोलेसन सेन्टर नगरपालिकाले थप गर्यो । बस्तीभन्दा छुट्टै आइसोलेसन सेन्टर हुनपर्ने सरकारको निर्देशिकालाई पछ्याउँदै नगरले १३ नम्बर वडामा रहेको भलिः पुच पार्टी प्यालेसलाई आइसोलेसन सेन्टरका रूपमा प्रयोगमा ल्यायो ।
“आजभन्दा एक महिना अगाडि आइसोलेसन सेन्टर तयार पारेपनि हामीलाई अक्सिजनको व्यवस्था गर्न भने हम्मे हम्मे पर्यो, ” गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन आफ्नो अनुभव सुनाउँदै भन्छन् “अक्सिजन सिलिन्डर भर्न म आफैँ ग्यास प्लान्टमा पुगेको थिएँ, त्यही कठिन समयमा हामीले केही नगरवासीलाई गुमायाैँ तर त्यसपछि भने उपचार नपाएरै कसैको मृत्यु नहोस् भनेर लागि परेका छौँ,” महर्जनले भने ।
मासिक साढे दुई लाख भाडा तिरेर सञ्चालनमा ल्याइएको आइसोलेसन सेन्टरमा दैनिक १ हजार रुपैयाँ प्रतिव्यक्तिका दरले खाना खर्च छुट्याइएको छ । जहाँ अहिले १९ जना संक्रमितको निशुल्क उपचार भइरहेको छ । यसबाहेक आनन्दवन अस्पतालमा र बज्रबाराही चापागाउँ अस्पतालमा गरी नगरले जम्मा ८५ बेड कोभिड संक्रमितका लागि व्यवस्था गरेको छ ।
समुदायमा संक्रमितको खोजी र उपचार
दोस्रो लहरको कोभिड संक्रमण समुदायस्तरमा फैलिन थालेपछि गोदावरी नगरपालिकाले २०७७ सालको कात्तिक ६ गतेदेखि नगरवासीलाई निशुल्क परीक्षणको व्यवस्था गरेको थियो । पहिलो चरणको संक्रमणमा नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने गरेको नगरले दोस्रो लहरको संक्रमणमा भने एन्टिजेन परीक्षण विधिलाई समेत प्रयोग गरियो ।
अहिलेसम्म नगरपालिकाभित्र ८ सयभन्दा बढी नमुनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको जनस्वास्थ्य निर्देशक बजगाइँले बताए । नगरले संक्रमित देखिएकाहरूको भने घरमै गएर स्वाब संकलन तथा एन्टिजेन परीक्षण गर्ने गरेको छ । अस्पतालमा परीक्षणका लागि आउनेहरूका लागि बिहान साढे आठ बजेदेखि साढे १० बजेसम्म निशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाइएको छ ।
यता आइसोलेसनमा राखिएका संक्रमितको नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि ३ जना चिकित्सक र दुई जना स्कुल नर्ससहितको स्वास्थ्यकर्मी टोली खटाइएको छ । गोदावरी नगरपालिकामा संक्रमण नियन्त्रणका लागि अहिले २९ जनाको टोलीले निरन्तर समुदायस्तरमा काम गरिरहेको बजगाइँले बताए ।
नगर प्रमुख र उप–प्रमुखको गाडी एम्बुलेन्सको रूपमा प्रयोग
गोदावारी नगरपालिकामा कोभिड संक्रमितको संख्या बढ्न थालेपछि नगरले २ वटा एम्बुलेन्सलाई कोभिड डेडिकेटेड एम्बुलेन्सको रूपमा तयारी अवस्थामा राखेको थियो । चैत अन्तिम सातायता काठमाडौं उपत्यकामा कोभिड संक्रमितको संख्या अध्यधिक रूपमा बढ्यो र संक्रमितलाई अस्पतालसम्म लैजाने एम्बुलेन्सको समेत अभाव हुन थाल्यो । त्यही अवस्थामा नगर प्रमुख गजेन्द्र महर्जन तथा उप–प्रमुख मुना अधिकारीले प्रयोग गर्दै आएको गाडीलाई कोभिड संक्रमितका लागि प्रयोग गर्ने निर्णय गरियो ।
“अहिले पनि कुनै संक्रमितलाई अस्पतालसम्म पुर्याउन एम्बुलेन्स पाइएन भने हामी आफूले चढेको गाडी प्रयोग गर्न दिन तयार छौँ, हाम्रो मोबाइलमा कल गर्दा हुन्छ,” नगरप्रमुख महर्जनले भने ।
जिम्मेवारीलाई आत्तिएर होइन संयमित भएर निभाउनुपर्छ
महामारी नियन्त्रणमा राज्यलाई सहयोग गर्नु सबै स्थानीय निकायको जिम्मेवारी भएको नगर प्रमुख महर्जनको बुझाइ छ । “संक्रमण बढ्दै गएपछि जिम्मेवारी थपिन्छ भन्नेमा हामी जानकार थियौँ त्यसैले आर्थिक, मानसिक, जनशक्ति सबै हिसाबले तयार थियौँ । यस्तो बेलामा सबै स्थानीय तहहरूले आफ्नो जिम्मेवारी आत्तिएर डराएर होइन, बलियो पूर्वयोजनाका साथ संयमित भएर निभाउनुपर्छ भन्ने कुरा कोभिड संक्रमणको दुईवटा लहरले सिकाएको सबैभन्दा ठूलो अनुभव हो,” उनले भने ।