site stats
बाह्रखरी :: Baahrakhari
विचार
अभिशप्त नियति कि नेताकाे दुर्नियत ?

नेपालीले सास्ती पाइरहेकै थिए । ‘जरासन्ध’को जन्मले थप अनिष्टकाे सङ्केत गरेकै थियाे । खड्गप्रसाद ओलीकै पाखण्डतन्त्रमा काेभिड-१९ काे महामारी थपियाे । महामारीमा ओली र उनका मन्त्री, सन्त्रीहरू जनतालाई ढाँट्न र मुलुककाे ढुकुटी लुट्न व्यस्त रहे । महामारी कालमा ओलीतन्त्रकाे निषेध, अकर्मण्यता, भ्रष्टाचार, बेथिति सबैले भाेगेकै छन् । लेख्नै पो किन पर्ला र ?

महामारी त बेथितिकाे नाम सुन्न पनि मन नलाग्ने भइसक्याे । नेपाली जनता यति निरीह  सायद पहिले कहिल्यै भएका थिएनन् । भूतसँग डराउनेहरू भूतकाे कथा सुन्न पनि डराउँछन् । यसैले पनि काेभिडकाे कहरका कुरा छाडेर राजनीति नामकाे पाखण्डकाे प्रसङ्ग निकालेकाे ।

‘संसद्मा बहुमत पुर््याउनै धाै धाै छ । संसद्कै आकारै सानाे भएमात्र सरकार बनाउन सङ्ख्या पुग्छ । अर्काे लामाे धर्काे तान्ने ठाउँ छैन मेटेर छाेटाे पारेमात्र लामाे होइने हाे । त्यसमाथि बहुमत पुगे नै पनि राष्ट्रपतिले सरकार बनाउन बाेलाउनुकाे साटाे लुम्बिनी, गण्डकीमा परिक्षण गरी सफल भएकाे विधि अपनाउँदिनन् भन्ने कुनै ग्यारेन्टी छैन । यस्ताेमा किन मरिहत्ते गर्नू ?’

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सायद नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही सोचेर ओली संसद्मा अल्पमतमा नपर्दासम्म अर्को सरकार बनाउन खासै चासाे देखाएका थिएनन् । प्रधानमन्त्रीले संसद्मा बहुमत गुमाएपछि प्रमुख विपक्षले सरकार बनाउने चेष्टा त गर्ने नै भयाे । तर, नियतिले जनादेशकै सम्मान गर्ने संकेत देखाएकाे छ । 

(भन्नेहरू त ओलीसँग भागबन्डाकाे ‘सेटिङ’ मिलेकाले देउवाले उनलाई हटाउन जाँगर नदेखाएका हुन् पनि भन्छन् । तर, सरकार बनाउन सांसद रिझाउने खेल कति कठिन र घातक हुनसक्छ भन्ने थाहा पाएकैले ओली अन्यमनस्क देखिएका हुनुपर्छ । यसले सायद, व्यक्तिगतरूपमा देउवालाई हानि भएकाे छैन ।)  

लागेकाे थियाे महन्थ ठाकुर ओलीकाे अधिनायकवादी हैकमविरुद्ध सबैभन्दा अगिल्लाे पङ्क्तिमा  हुनेछन् । जीवनकाे उत्तरार्धमा सैद्धान्तिक राजनीतिक ‘आत्महत्या’ गरेर उनले पाउने पाे के हाे र ?  साथै अकारण त्यस्ताे लागेकाे पनि हाेइन । 

पहिलाे कारण- लाेकतान्त्रिक आन्दाेलनमा जीवन समर्पण गरेका थिए ठाकुरले । अहिले देखिएका शीर्ष नेतामा पनि सम्भवतः सबैभन्दा वरिष्ठ हुन् महन्थ ठाकुर । लाेकतन्त्रप्रतिकाे निष्ठा, त्याग, समर्पण, सादगी प्रतिबद्धताका प्रतिमूर्ति थिए यी ।  

दाेस्राे - पोहोरमात्रै ओलीले यिनकाे पार्टी फुटाउन अध्यादेश जारी गराएका थिए । ढिलै लागे पनि मधेस आन्दाेलनका पर्याय बनेका ठाकुर र कुनै बेला मधेसको नाम सुन्न पनि नरुचाउने ओली विपरीत  ध्रुवजस्ता लाग्थे । यी दुई यसरी ‘दाे जिस्म मगर एक जान’ हाेलान् भनेर साेच्न पनि सकिँदैन थियाे ।  

आश्चर्य, लाेकतन्त्र जाेगाउने कि त्यसलाई ‘जाेकतन्त्र’ बनाउने निर्णायक घडीमा त महन्थ ठाकुर ओलीकाे अनुहारमा पो प्रकट भए ।ओलीकाे मन्त्री भइसकेका पुराना कम्युनिस्ट उपेन्द्र यादवले लाेकतन्त्रकाे साटाे जाेकतन्त्र राेजेका भए बरू अनाैठाे लाग्ने थिएन । 

भानुभक्तकाे रामायणकाे यी पङ्क्तिमा भनिएजस्तै पो भयाे त  - 

“वाणीले ति भुलाइयाकि छँदि लौ भन्दी भइन् कैकयी।

राम्लाई वनवास् भरत् कन त राज माग्छू म चाँडो गई॥”

अर्थात्, ओलीकाे निरङ्कुशतन्त्रकाे काँध थाप्न महन्थ ठाकुर पो आइपुगे !

शपथकाे ‘हाेम डेलिवरी’ पनि जारी छ । लुम्बिनीमा भन्दा गण्डकीमा केही सुधारियाे । लुम्बिनीमा मुख्यमन्त्री खोज्दै प्रदेश प्रमुख शपथ गराउन गएका थिए भने गण्डकीमा ‘होम आइसोलेसन’मा बसेका मुख्यमन्त्रीलाई शपथ खुवाइयाे । काठमाडाैंमा पनि बहुमत हैन ठूलाे दलकाे यही माेडल दोहोर्‍याउने हाे भने शपथ ग्रहण कता होला ? खुलदुली छ ।

अर्काे खुलदुली छ - नेपाल खनाल समूहले के गर्ला ? राजीनामा सजिलाे बाटाे त हाेइन । त्याग एमाले नेताहरूकाे सस्कार र अभ्यास पनि हाेइन । नत्र, वैशाख २७ भन्दा पहिले नै उनीहरूले संसद्बाट राजीनामा गर्थे होलान् । भर्खरै एमालेले माधव नेपालहरूमाथि गरेकाे कारबाही फिर्ता लिएकाे समाचार सार्वजनिक भएकाे छ । याे बल्छी नेपालहरूका लागि त निल्नु न ओकाल्नु हुन्छ होला तर निसाना भने जसपामा लाग्नुपर्छ । महन्थ जीहरूकाे ‘पलडा’ अलिकति भारी होला अब ।  एमाले एकै ठाउँमा भयो भने त १५ थपे १३६ पुगिहाल्छ नि !

पार्टीकाे ह्विप उल्लङ्घन गरिसकेपछि केकाे माेह ? ओलीकाे जाेकतन्त्रबाट नेपालकाे लाेकतन्त्रलाई हानि हुन्छ र विधिकाे शासनकाे रक्षाका लागि आवश्यक देखिएकाे त्याग पनि गर्नुपर्छ भन्ने लागे तिनले अविलम्ब पदबाट राजीनामा गर्नुपर्थ्यो । ढिलाे गरे भने तिनकाे पद जाने ओली नजाने होला नि ! 

भन्न त - ‘‘त्यजेदेकं कुलस्यार्थे ग्रामस्यार्थे कुलं त्यजेत्। ग्रामं जनपदस्यार्थे आत्मार्थे पृथिवीं त्यजेत्॥’’ भन्छन् । तर, लाेकतन्त्रभन्दा पार्टी र पद ठूलाे ठान्ने हाे भने याे सूक्ति सम्झे पनि भयाे -‘‘सर्वनाशे समुत्पन्ने ह्यर्धं त्यजति पण्डित: | अर्धेन कुरुते कार्यं सर्वनाशो हि दु:सह: || ’’  

त्यसो त, ओली रूपी ‘समुद्री बूढाे’लाई माैका परेका बेला हुत्याउन नसके बूढोले संसद् रूपी ‘सिनवाद’काे घाँटी थिच्ने निश्चितै छ ।

विडम्बना, माधव नेपालहरूले राजीनामा गरेर संसद् जाेगिए आफू गइने तर राजीनामा नगरेर ओली जोगाए संसद् जाने । अर्थात्, उनीहरुका लागि त ‘भिरबाट लडे पनि बाघले खाए पनि किलो रित्तै’  । 

जे गर्ने हो सबैले छिटाे गर । सबैभन्दा त जनता समाजवादी पार्टीले अलमल छाड । सके पार्टी एक भएर ओली हटाऊ । नभए पार्टी फुटाएर ओली बचाऊ । जे गरे पनि  लेखाजोखा राख्ने जनताले हो राख्लान् । ठाकुर र यादवकाे प्रतिष्ठाकाे प्रश्न नबनाऊ । 
शेरबहादुर देउवा यसै बदनाम छन् अपारदर्शी सहमति गरेर थप कलङ्कित नहाेऊन् । 

नेपालकाे नियति नै अभिशप्त हो कि नेतृत्व गर्नेहरूकाे बदनियतले नेपाली जनताले लाञ्छना र सास्ती सहन परेकाे हाे ? इतिहासले कुनै न कुनै दिन त यस प्रश्नकाे उत्तर देला नि !
 

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १२:२८
प्रतिक्रिया दिनुहोस्