site stats
बाह्रखरी :: Baahrakhari
देश
कोभिड नियन्त्रण : एक वर्षमा परीक्षण किट र रिएजेन्टमा सबैभन्दा धेरै खर्च

काठमाडौं । नेपालमा कोभिड–१९ संक्रमण फैलिन थालेको एक वर्ष बित्दै गर्दा फेरि संक्रमणको जोखिम बढेको छ । पहिलो लहरको संक्रमण दर दुई महिनायता घटेको भए पनि भारतमा संक्रमण उच्च भएसँगै नेपालमा नयाँ संक्रमित थपिन थालेका छन् । यो अवस्थामा कोभिड नियन्त्रणका लागि सरकारी खर्च अझै बढ्दै जाने आँकलन विज्ञहरुले गरेका छन् ।

कोभिड नियन्त्रणका लागि एक वर्षमा १३ अर्ब ६ करोड खर्च  
०७६ चैतदेखि ०७७ चैतसम्म सरकारले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि १३ अर्ब ६ करोड रुपैयाँ खर्च गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष, प्रदेश कोषको समेत गर्दा १३ अर्ब ६ करोड खर्च भएको हो । यो संघ र प्रदेश सरकारले गरेको खर्चको विवरण हो । स्थानीय तहले गरेको खर्चको अहिलेसम्म यकिन तथ्यांक आएको छैन ।

महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलका अनुसार एक वर्षको अवधिमा संघीय सरकारको बजेट प्रणालीबाट मात्रै ७ अर्ब ६२ करोड रुपैयाँ खर्च भएको छ । यस्तै, प्रदेश सरकारले २ अर्ब ९२ करोड रुपैयाँ कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि खर्च गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“स्थानीय तहको बाहेक प्रधानमन्त्री कार्यालयअन्तर्गत रहेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष, प्रदेश कोष, बजेट प्रणालीबाट कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि २०७६ चैतदेखि २०७७ चैतसम्म १३ अर्ब ६ करोड रुपैयाँ खर्च भएको छ,” पौडेलले भने ।

नमुना संकलन, परीक्षण र रिएजेन्ट खरिदमा धेरै खर्च
नेपालमा कोभिड–१९ को पहिलो केस ०७६ माघमा देखिएको भए पनि चैतदेखि संक्रमण फैलिन थालेको थियो । समुदायस्तरमा ०७७ साउनदेखि फैलिएको संक्रमण असोजदेखि मंसिरसम्म उच्च विन्दुमा पुगेको थियो । यो अवधिमा सरकारले कोभिड–१९ नियन्त्रणका लागि सबैभन्दा धेरै खर्च गरेको देखिन्छ ।

स्वास्थ्य सेवा विभागको ०७७ साउनयताको तथ्यांक हेर्दा कोभिड–१९ पहिचानका लागि नमुना संकलन, परीक्षण र परीक्षण किटमा प्रयोग हुने रिएजेन्टमा सबैभन्दा धेरै खर्च भएको देखिन्छ । त्यस्तै, आईसीयू उपकरण र आईसीयूकक्षमा प्रयोग हुने सामग्री तथा औषधिमा पनि सरकारले मोटो रकम लगानी गरेको देखिन्छ ।

आईसीयूमा प्रयोग हुने उपकरण र औषधि आठ महिनाको अवधिमा १० पटक–फरक फरक कम्पनीमार्फत खरिद गरिएको देखिएको छ । ०७७ साउनदेखि ०७७ फागुनसम्म विभागले कोभिड–१९ कार्यक्रमतर्फ खरिद गरेका सामग्री र तिनको खर्च विवरण यस्तो छ–
नमुना संकलन, परीक्षण किट र तीनमा प्रयोग हुने रिएजेन्टमा २८ करोड ३७ लाख ७१ हजार २५० रुपैयाँ
आईसीयू उपकरण तथा आईसीयूमा प्रयोग हुने औषधिमा ७ करोड ८४ लाख ३९ हजार १८६ रुपैयाँ 
गाउन, मास्क, फेससिल्ड र चस्मामा ११ करोड  ३६ हजार ५७५ रुपैयाँ 
जनरल बेडमा ४ करोड ५६ लाख ५३ हजार ४१२ रुपैयाँ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सेवा विभागबाट खरिद गरिएका सामग्रीहरु संघलगायत प्रदेशका प्रयोगशाला र अस्पतालहरुमा प्रयोग भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । तर, अघिल्लो आर्थिक वर्षमा खरिद गरिएका कतिपय सामग्री भने महामारी उच्च भएको समयमा प्रयोगविहीनसमेत बनेका उदाहरण छन् । सरकारले मोटो रकम लगानी गरे पनि उपलब्धिविहीन बनेको एउटा उदाहरण हो, पोर्टेबल पीसीआर मेसिन ।

स्वास्थ्य सेवा विभागले ०७६ चैतमा ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल (ओबीसीआई)मार्फत चीनबाट पाँचथान पोर्टेबल (रियल टाइम) पीसीआर मेसिन खरिद गर्‍यो । २१ हजार अमेरिकी डलर प्रतिथानका हिसाबले सरकारले पाँचवटा मेसिनका लागि करिब एक करोड २० लाख रुपैयाँ खर्चिएको थियो । प्रदेशस्तरीय जनस्वास्थ्य प्रयोगशालाका लागि ल्याइएका मेसिन विराटनगर, बुटवल, पोखरा, जनकपुर र धनगढीका जनस्वास्थ्य प्रयोगशालाहरुमा पठाइयो । कोभिड–१९ को संक्रमण मुलुकभर फैलिन थालेको र यसअघि जनस्वास्थ्य प्रयोगशालाहरुमा पीसीआर मेसिन नभएका कारण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा चेकजाँच नगरी ती मेसिनहरु प्रदेशमा पठाइएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल)ले चैतभरिमा पाँचवटै प्रयोगशालामा मेसिन पठाइसकेको थियो ।

तर, प्रदेश प्रयोगशालाहरुमा बढेको परीक्षणको चाप र मेसिनले दिने गलत नतिजाका कारण पाँचमध्ये चारवटा प्रदेशमा ती मेसिन प्रयोगविहीन बनेका थिए । लुम्बिनी प्रदेश प्रयोगशालाबाहेक कुनै पनि प्रयोगशालामा अहिले ती मेसिन प्रयोगमा छैनन् ।

विनापूर्वतयारी सरकारले गरेको एक करोड २० लाख रुपैयाँ लगानी अहिले पनि प्रयोगशालामै थन्किरहेको छ । यसबाहेक विभिन्न दातृनिकायहरुले अनुदानमा प्रदान गरेका स्वास्थ्य उपकरण, परीक्षण किट, सुरक्षा सामग्रीलगायतको सदुपयोग भइरहेका छन् वा प्रयोगविहीन छन् । यसबारे एक वर्षको अवधिमा कुनै निकायबाट नियमन भएको छैन ।

खोपका लागि कति खर्च ?
नेपालमा हालसम्म भारत र चीन सरकारले १८ लाख डोज कोभिड–१९ विरुद्धको खोप अनुदानमा दिएका छन् । त्यस्तै, विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रमअन्तर्गत तीन लाख ४८ हजार डोज खोप पनि नेपालले निःशुल्क पाएको हो । नेपालले भारतको सिरम इन्स्टिच्युट अफ इन्डियासँग प्रतिखोप चार डलरका दरले २० लाख डोज खोपको शुल्क भुक्तानी गरिसकेको छ । जसमध्ये १० लाख डोज आइसकेको छ भने १० लाख डोज खोप आउन बाँकी छ । चीनबाट गएको सोमबार ल्याइएको खोपको ढुवानी खर्चबारे स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्था शाखाले केही खुलाएको छैन । तर, चार्टर्ड गरेर ल्याइएबापत ठूलो रकम खर्च भएको अनुमान गरिएको छ ।

दुई चरणमा चलाइएको खोप अभियानमा ढुवानी, पूर्वाधार निर्माण, वितरणलगायत विभिन्न कार्यक्रममा गरी अहिलेसम्म झन्डै १७ लाख रुपैयाँ खर्च भएको स्वास्थ्य सेवा विभागअन्तर्गत आपूर्ति व्यवस्था शाखा प्रमुख उपेन्द्र ढुंगानाले बताए ।

नेपालको कुल जनसंख्यामध्ये दुई करोड ९ लाख ७८ हजार नागरिक कोभिड–१९ विरुद्धको खोप लगाउने सूचीमा छन् । जसमध्ये हालसम्म जम्मा १६ लाखलाई पहिलो डोज खोप दिइएको छ । कोभ्याक्सअन्तर्गत अब झन्डै १९ लाख डोज खोप नेपालले निःशुल्क पाउनेछ । यसबाहेक बाँकी खोप सरकारले आफैँ खरिद गर्नुपर्ने हुन्छ । खोप लगाउने सूचीमा परेका नागरिकलाई पुग्ने खोप ल्याउन अर्थ मन्त्रालयले ४५ अर्ब रकमको व्यवस्था गरिसकेको पटक–पटक जनाएको छ । तर, महामारी सुरु भएको एक वर्षपछि फेरि नेपालमा बढेको संक्रमण दर नियन्त्रण गर्न सरकारले छुट्ट्याएको बजेटले धान्ला/नधान्ला अन्योल पैदा भएको छ ।

प्रकाशित मिति: बुधबार, चैत १८, २०७७  १५:२४
प्रतिक्रिया दिनुहोस्