site stats
बाह्रखरी :: Baahrakhari
देश
कोरोनाविरुद्धको खोप नेपालमा कहिले आउँछ ? चीन, रुस र अमेरिकासँग पहल

काठमाडौं । कोभिड–१९ का कारण विश्वले ठूलो मानवीय क्षति व्यहोरेको छ । यसको खोप कहिले आउँछ भन्नेमा सबैको चासो छ । विज्ञान र प्रयोगमा अग्रपंक्तिमा रहेका मुलुकहरु यतिखेर कोरोनाविरुद्धको खोप विकासमा लागिरहेका छन् । अमेरिकाका दुईवटा औषधि निर्माण कम्पनीसहित चीन, रुस, ब्राजिल इजरायललगायतका देशमा खोप निर्माणको काम तीव्र गतिमा भइरहेको जनाइएको छ ।

यी मुलुकहरूले बनाएका कोरोनाभाइरसविरुद्धका खोप अहिले परीक्षणको तेस्रो अर्थात् अन्तिम चरणमा छन् । विश्व स्वास्थ्य संगठनकाअनुसार नोभेम्बरको अन्तिम सातासम्म १२० कम्पनीले खोप परीक्षणको अनुमति लिएका छन् । विश्वभरका १०० ओटा ल्याबमा कोरोनाविरुद्धको खोप परीक्षण भइरहेको संगठनको दाबी छ ।

कुन देशमा खोप कहिले ?

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विश्व बजारमा खोप उपलब्ध हुनेबित्तिकै कुन देशलाई कसरी प्रदान गर्ने भन्ने सम्बन्धमा विश्व स्वास्थ्य संगठनले अध्ययन गरिरहेको छ ।

कोरोनाबाट अतिप्रभावित मुलुकहरु प्राथमिकता सूचीमा अगाडि रहे पनि अन्य मुलुकहरुमा समेत सहुलियतमा खोप उपलब्ध गराउने संगठनको रणनीति रहेको छ । कोरोना प्रभावित सबै मुलुकका कमसेकम २० प्रतिशत जनसंख्यामा खोप पुर्‍याइने रणनीतिमा उल्लेख छ । १२ वर्षभन्दा माथि उमेर समूहका लागिमात्रै आउन लागेको खोपको डोज र मूल्यदरबारे भने यकिन भइसकेको छैन ।

खोप कहिले आइपुग्ला त नेपालसम्म ? 

सरकारले कोरोनाभाइरसविरुद्धको खोप नेपाल भित्र्याउनका लागि अध्यादेश  जारी गरिसकेको छ । उक्त अध्यादेशले आपत्कालीन अवस्थामा विदेशमा बनेका जुनसुकै खोप नेपाल ल्याउन कानुनी सहजता प्रदान गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार छिमेकी राष्ट्र चीन, रुस र अमेरिकासँग पहल भइरहेको छ ।

पहिलो चरणमा कुल जनसंख्याको २० प्रतिशतलाई पुर्‍याउने गरी खोप ल्याउने तयारी छ । त्यसका लागि सात अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ । जुन रकम मन्त्रालयले जोहो गरिसकेको बताइएको छ । अहिले बनिरहेको खोप १२ वर्षभन्दा माथिका व्यक्तिहरुको लागिमात्र भएकाले बाँकी ५० प्रतिशत जनसंख्यालाई पुग्ने खोप दोस्रो चरणमा ल्याइनेछ । त्यसका लागि ४५ अर्ब रुपैयाँ लाग्ने अनुमान मन्त्रालयको  छ ।

यही रकम जुटाउन तीनओटा मन्त्रालयको सचिवस्तरीय समिति गठन गरिएको छ । सकेसम्म देशभित्रैबाट रकम जम्मा गरिनेछ । अपुग भएमा विश्व बैंकबाट सहयोग लिने मन्त्रालयको योजना रहेको छ ।

नेपालमा एउटै अथवा यही मुलुकबाट खोप ल्याउने भन्ने ठोस निर्णय भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्की भन्छन्, “हामीले गुणस्तर र बजेटमैत्री खोप भित्र्याउन जोड दिनेछौं । त्यसमा जुन मुलुकको मापदन्ड हामीसँग मेल खान्छ, त्यहीँबाट ल्याउने हो । यही मुलुकबाट भन्ने यकिन छैन ।”

प्रत्यक्ष आर्थिक सहायता गरिरहेका विदेशी निकायहरुसँग जिन्सी सहयोगका लागि आग्रह गर्ने पहल भइरहेको पनि डा. कार्कीले बताए ।

पूर्वतयारीका सम्बन्धमा के भन्छन्, विज्ञहरु ?

नेपालमा अहिले बालबालिका र वयस्कमा हुने विभिन्न सरुवारोगविरुद्ध दिइने १२ थरीका खोप बाहिरी देशबाट आयात हुन्छन् । यसअघि, विभिन्न सरुवारोगको प्रकोपका समयमा नेपालले पटक–पटक युनिसेफ, विश्व स्वास्थ्य संगठनजस्ता अन्तर्राष्ट्रिय नियोगहरुको सहयोग लिइसकेको छ । सन् २००० मा मातृशिशु बचाउ कार्यक्रमका लागि ठूलो मात्रामा खोप आयात गरिएको थियो । त्यो समयमा प्याकेज प्रक्रियामा खोप आयात गरिएकाले बजेटमैत्री तथा प्रभावकारीसमेत भएको अनुभव बाल स्वास्थ्य तथा खोप विभागका पूर्वप्रमुख डा. राजेन्द्र पन्तको छ ।

कोरोनाभाइरसको खोप नयाँ भएकाले त्यसलाई चिस्यान तथा भन्डारण गर्ने क्षमता थप गर्नुपर्ने देखिन्छ ।

डा. पन्तकाअनुसार अहिले नेपालमा रहेको पूर्वाधार र जनशक्ति कोरोनाविरुद्धको खोप वितरण तथा सेवा प्रवाहका लागि पर्याप्त छ । तर, सरकारले केही प्राविधिक पूर्वतयारीमा भने अभ्यास गर्नु जरुरी छ । 

जस्तै, मुलुकभर खोप पुर्‍याउँदाको अधिकतम समय र त्यसका लागि स्थानीय तहमा खटाउने जनशक्तिको बारेमा बलियो तयारी आवश्यक रहेको उनले औंल्याए ।

त्यस्तै, वितरणमा समानता ल्याउने सम्बन्धमा पनि सरकार कडा हुन जरुरी देखिन्छ ।

उनी भन्छन्, “नेपालमा अहिले भएजस्तो पावर र पहुँचका आधारमा खोप वितरण हुने हो भने सर्वसाधारण वर्ग छुट्नेछ । जसले सरकारले अर्बौं रुपैयाँ खर्चिएर ल्याएको खोपको प्रभावकारीतामाथि प्रश्न उठ्नेछ ।” नेपालललाई खोपको क्षेत्रमा यसअघि युनिसेफले ५० देखि ७० प्रतिशतसम्म आर्थिक सहयोग गर्दै आएको थियो ।
तर, कोरोनाविरुद्धको खोपका लागि संकटको घडीमा सरकारले अन्तर्राष्ट्रिय निकायहरुको मुख ताक्नुभन्दा आफ्नै खल्ती बलियो बनाएर बस्न डा. पन्तको सुझाव छ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०७७  ०९:५०
प्रतिक्रिया दिनुहोस्