site stats
बाह्रखरी :: Baahrakhari
देश
असई विकसँगै जवानको पनि हत्या गरेको अभियुक्तको बयान ! हत्यारासम्म पुग्यो प्रहरी

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका १२ को अस्थायी प्रहरी बिट जुगेडाका इञ्चार्ज असई गोविन्द विकसँगै सीमा क्षेत्रमा गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउँदको पनि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । शनिबार साँझ ८ बजे मोटरसाइकलमा गस्ती गएकामध्ये असई विक आइतबार बिहान मृत अवस्थामा मोहना नदीमा फेला परे पनि प्रहरी जवान साउँदको अवस्था भने अज्ञात छ । अनुसन्धानमा क्रममा प्रहरीले १५ जनाभन्दा बढीलाई पक्राउ गरेको छ ।

पक्राउ परेकामध्ये ६ जना घटनामा संग्लन भएको प्रहरी दाबी छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

घटनामा संग्लन रहेका एकजनाले प्रहरीलाई दिएको साविति बयानलाई उद्धृत गर्दै ती अधिकारीले बाह्रखरीसँग भने,“हामीले नेपालबाट सामान भारत तस्करी गर्ने क्रममा प्रहरीले अवरोध गरे । अवरोध गरेपछि सुरुमा प्रहरी जवान साउँदमाथी आक्रमण गर्‍यौँ । घेरा हालेर असईमाथि आक्रमण गर्‍यौँ । सुरुमा जवानको हत्या गर्‍यौँ । उनलाई पनि मोहना नदीमा फाल्यौं । त्यसपछि असईको पनि हत्या गरेर मोहनामै फालेका हौं ।”

घटनास्थलमा साउँदले प्रयोग गर्ने गरेको मोबाइल र एउटा बुट फेला परेको थियो । विकले चढ्ने बा ५८ प ५२८४ नम्बरको मोटरसाइकल शव भेटिएको स्थानदेखि साढे २ किलोमिटर पश्चिमतर्फ भेटिएको थियो  ।   प्रहरीले सीमा क्षेत्रमा तस्कर समूहका गतिविधि निगरानी र नियन्त्रण गर्न पुगेका उनीहरु तस्करकै सिकार बनेको दाबी गर्दै आएको थियो ।

आइतबारदेखि प्रहरी टोली र स्थानीय साउँदको खोजीमा लागेका छन् । सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले भने,“हामी अभियुक्तको नजिक पुगिसकेका छौं । केही पक्राउ पनि परेका छन् । सामूहिक रुपमा प्रहरीमाथि आक्रमण भएको देखिन्छ । तस्करको काममा अवरोध गर्दा आक्रमण भएको हो । छिट्टै सबै अभियुक्तलाई सार्वजनिक गर्छौँ ।”

केही दिनअघि असई विकको टोलीले सोही नाका भएर अवैध रुपमा नेपाल भित्रिँदै गरेको सुर्तीजन्य पदार्थ बरामद गरेको थियो । प्रहरीमाथि आक्रमण भएको क्षेत्र आपराधिक गतिविधि हुने क्षेत्र मानिँदै आएको छ । मोहना नदीले नेपाल–भारतको सीमा छुट्याएको छ ।   वितगमा पनि नेपालमा अपराध गरेर भारतमा लुक्ने र भारतमा अपराध गरेर नेपाल पस्ने गरेको पाइएको प्रहरी अधिकारी बताउँछन् । 

सो क्षेत्रबाट तस्करले अवैध सामान मोहना नदी तरेरै नेपाल भित्त्र्याउने गरेका छन् । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०७७  ०८:३४
प्रतिक्रिया दिनुहोस्