site stats
बाह्रखरी :: Baahrakhari
देश
सेनाले दसैंमा कर्मचारीलाई बिदा दिने, पूजामा सकेसम्म पशुबलि नदिइने

काठमाडौं । मुलुकको सबैभन्दा ठूलो सुरक्षा संगठन नेपाली सेनाले कर्मचारीलाई दसैं बिदा दिने भएको छ । कोरोना भाइरसको महामारीका कारण लामो समयसम्म बिदा जान नपाएकाहरुलाई दसैं मनाउन छुट्टी दिन लागेको हो ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार दसैंमा घर जानेहरुलाई सकेसम्म सेनाले आफ्नै बस र हवाईजहाजमार्फत पुर्‍याउने तयारी गरिरहेको छ । उनले भने, “आफ्नै साधनमा जाँदा हाम्रो मात्रै टोली हुन्छ । कमान्ड कन्ट्रोल पनि रहन्छ । लामो समयसम्म बिदा जान नपाएकाहरुलाई पठाउँछौं । बिदाबाट फर्केपछि क्‍वारेन्टिन बसाउने र सबै स्वास्थ्य मापदण्ड अपनाएर काममा फर्काउँछौं ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सेनाले दसैंलाई विशेष महत्त्वका साथ मनाउँदै आएको भएपछि कोरोना महामारीका कारण यस वर्ष भने विगतको भन्दा फरक हुनेछ । सैनिक प्रवक्ता पौडेलका अनुसार यसपालिको फूलपाती पनि विगतभन्दा केही फरक हुनेछ । उनले भने, “फूलपातीमा पहिलेभन्दा कम व्यक्तिलाई आमन्त्रण गर्छौं । पल्टनको पूजा गर्दा पनि सामाजिक दुरी कायम गर्छौं । सबै ठाउँमा स्वास्थ्य सतर्कता अपनाउँछौं ।”

उनले सेनाले गर्दै आएको मौलो पूजामा पशुबलि दिइँदै आए पनि विगतभन्दा यसपालि कम हुने बताए । सम्भव नभए पशुबलिको स्थानमा कुभिन्डोको बलि दिइने उनले बताए । पौडेलले भने, “पञ्‍चाङ्‍ग निर्णायक समितिसँग पनि सरसल्लाह गरिरहेका छौं । यसअघि मौला पूजामा  ५/६ वटा पशुबलि हुन्थ्यो । अब त्यसो नगरीकन आवश्यक परे मात्रै पशुबलि दिने भन्‍ने छ । नत्र कुभिन्डो र नरिवलको बलि दिन्छौं प्रतिकात्मक रुपमा ।”

सेना शक्तिको पुजारी भएको  र सेनामा निशान भगवतीको पूजा हुने गरेको प्रवक्ता पौडेलले बताए । सकेसम्म न्यूनतम बलि दिने र संकल्प र बिर्सजनको समयमा मात्रै पशुबलि गरीकन बाँकी पहिले गर्दै आएका विभिन्‍न बलिको ठाउँमा कुभिन्डो र नरिवल गर्नेतर्फ अघि बढेको पौडेलको भनाइ छ ।

सबैमा मुख्य प्राथमिता भनेको स्वास्थ्यसम्बन्धी मापदण्डको पालना नै भएको सेनाको भनाइ छ । नेपाल प्रहरीले भने दसैंमा अत्यावश्यक कामबाहेकमा प्रहरी कर्मचारीलाई बिदा नछाडिने स्पष्ट पारिसकेको छ ।

-फाइल तस्बिर

प्रकाशित मिति: आइतबार, असोज २५, २०७७  १०:३७
प्रतिक्रिया दिनुहोस्