site stats
बाह्रखरी :: Baahrakhari
विचार
बोरामा आलुजसरी नकोच, कोरोनाको रोकथाम निषेधाज्ञा र कर्फ्यु होइन ! 

एउटा उदाहरणबाट सुरु गरौँ । कसैले एक बोरा आलु किनेर भान्सामा राखेको रहेछ । केही दिनमा हेर्दा एउटा आलु कुहिएको भेटियो । अब उसले त्यो आलुलाई बोरामा त्यतिकै छोड्यो भने के हुन्छ ? सबै आलु कुहिन्छ । अझ भनौ धेरै चाँडो कुहिन्छ । त्यस्तो बेलामा अलिकति पनि सुझबुझ भएकी गृहणीले के गर्छिन् ? आलुलाई फिँजाएर राख्छिन् । भान्सा सानो रहेछ, आलु फिँजाउँदा ठाउँ पुगेन भने कोठामा ओछ्यानमुनि फिँजाएर भए पनि आलु कुहिनबाट जोगाउँछिन् । तर, बुद्धि नहुनेले के गर्छ ? एउटा, दुईटा बिग्रेको आलु यसो निकाल्छ र बोरालाई अझ कुनामा धकेलिदिन्छ । मान्छे आलु पनि होइन र रोग लाग्नु भनेको कुहिनु पनि होइन । त्यसैले यो उदाहरणलाई गलत ढंगले नलिइयोस् । वास्तवमा अहिलेको अवस्थामा यो उदाहरण ठ्याक्कै चरितार्थ हुँदैछ । त्यसैले सम्झाउनका लागिमात्र या विम्ब प्रयोग गरेको हो । 

कोरोना कसरी सर्छ ? कुनै रोग लागेको व्यक्तिसँग निकै नजिक भयो भने उसको सास, खकार, थुकबाट सर्छ । मान्छेलाई टाढा टाढा राखियो भने यो रोग सर्छ ? सर्दैन । अनि सरकार किन सबैलाई घरभित्र कोचेर राख्नलाई उद्यत छ ? किन यस्तो काम हुँदैछ जसले कोभिड–१९को संक्रमण फैलनलाई सहयोग पुर्‍याउँदैछ ? 

उत्तर एकदमै सजिलो छ । निर्णयकर्ताहरू भाडाको कोठामा, फ्ल्याटमा बस्दैनन् । उनीहरू कम्पाउन्ड भएको घरमा बस्छन् र सँगै अर्को फ्ल्याटमा बस्ने मानिस पनि हुँदैनन् । त्यसैले उनीहरूलाई लाग्छ सबैलाई घरमा राख्यो भने एकअर्कासँग संसर्ग र सम्पर्क हुँदैन । त्यसैले कोरोनाको रोकथाम हुन्छ । यी आँखा भएर पनि दृष्टि गुमाएकाले काठमाडौंका एउटै घरमा छ, सात फ्ल्याट र एउटै तल्लामा दुई, तीन परिवार बसेको देख्दैनन्, न त यिनले एउटै कोठामा चार–पाँचजना सुतेर, त्यही कोठाको कुनामा भात पकाएर गुजारा चलाएकाहरूलाई देख्छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अहिलेका निर्णयकर्तामध्ये धेरैजना यस्तै सानो गुम्सिएको कोठाबाट आएका हुन् तर यिनलाई लाग्छ अब उनीहरूजस्तै सबैजना भ्रष्टाचार गरेर कमाएको ठूलो घर किनेर आरामसित बसेका छन् । अथवा, यिनलाई लाग्दो हो जो ठूलो ठाउँमा बस्दैनन्, केही महिनाको तलब नआए पनि आरामसित गुजारा गर्न सक्दैनन् ती केका मान्छे ? तिनलाई बाँच्ने अधिकारै छैन । वा लाग्दो हो, केही हजार गरिब मरेर उनीहरूलाई फरक पर्दैन, धनी र ठूला नेता मर्नु भएन । मर्न त को मर्छ कोरोनालाई मात्र थाहा होला । कम से कम यो भाइरसले सम्पत्ति भएका र नभएका वा शक्ति भएका र नभएकामा कुनै प्रकारको भेदभाव गरेको देखिएको छैन । 

धेरै बुद्धिमान छन् जसलाई लाग्छ यो रोगको रोकथामका लागि ‘लकडाउन’मात्र हैन कर्फ्यु लगाउनुपर्छ । कतिपय मुसा, चमेरा, सर्प वा भालुका केही प्रजाति धेरै दिनसम्म नखाई र नपिई शीतनिन्द्रा वा शीत समाधिमा जान सक्छन् । हाम्रा निर्णयकर्तालाई पनि लाग्दो हो मान्छेलाई शीत निन्द्रामा पठाउन सकिन्छ । अझ कति गाँठ भएका स्वाँठलाई लाग्दो हो सबैले एक महिनाको सामान किनेर घरमा राखेर बसे भइगयो नि ! नेपालका धेरै घरमा कसैले सित्तैमा एक महिनाको सामान किनेर दियो भने पनि राख्ने ठाउँ हुँदैन । अझ सहरको बसाइको त कुरै नगरौँ । हजारौं परिवार छन् जो दिनहुँ कमाइ भएन भने साँझ पेटको आगो निभाउन चिसो पानीमात्र पिएर सुत्न बाध्य हुन्छन् । 

सरकारमा बसेका जागिरे मानसिकतालाई कोरोना भुसको आगोजस्तो घरघरमा सल्किएको कुनै मतलब छैन । थाहा भएर पनि थाहा नपाएको भान गरेर बसेका छन् । उपल्ला तहका हाकिम र मन्त्रीलाई सहर सुनसान चाहिएको छ । त्यसैले पसल, व्यापार, व्यवसाय र सवारी साधन बन्द गरिदिएका छन् । कुनै एउटा व्यक्ति मास्क लगाएर पसलमा बस्दा रोग सार्ने तर घरछिमेकमा साथीभाइ ईष्टमित्रसँग बस्दा नसर्ने हो र ? सबैजना आफ्नो परिवारसँग मात्र बस्ने हो भने त ठीकै हो । तर, दुई वा तीनवटा कोठामा चार, पाँच जनाको परिवार चौबीसै घन्टा थुनिएर बस्न सक्छ ? परिवारको एउटा मान्छे बाहिर निस्किएर अर्को परिवार वा अर्को घरको मान्छेसँग कुरा गर्दा रोग फैलिँदैन ? फेरि केटाकेटीलाई सधैँ घरभित्र थुनेर राख्न सकिन्छ ? 

मान्छे घरघरमा थुनिएर बस्न पनि सक्दैनन् र बसेका पनि छैनन् । बिहान पसल खुल्दाको चटारो छाडिदिऊँ, अलि साँझ काठमाडौंको कुनै पनि गल्ली, गल्छेँडोमा पसौँ त मान्छे सबैजना सडकमा निस्किएका हुन्छन् । सबैजना समूह, समूहमा बसेर गफ गरिरहेका छन्, सबैजना पैदल यात्रामा निस्केका हुन्छन् । यिनले रोग सारेका छैनन् ? तर, दिउँसो सडकमा निस्कन पाएका छैनन् र सरकार त्यसैलाई आफ्नो सफलता सम्झेर बसेको छ । 

अब अलिकति तथ्यांकबाट हेरौँ र काठमाडौं सहरको अवस्थालाई उदाहरण मानौ । काठमाडौंको कुल क्षेत्रफल करिब ५० वर्ग किलोमिटर छ र यो क्षेत्रफलमा करिब १४ लाख मानिस बसोबास गर्छन् । अर्थात्, काठमाडौंको एक वर्ग किलोमिटरमा करिब २८ हजार मानिस बसोबास गर्छन् । यसरी हेर्दा जनघनत्वको हिसाबमा काठमाडौं विश्वकै धेरै घनत्व भएको सहरमध्ये एउटा देखिन्छ । तर, अहिले रोग फैलिएको अवस्थामा काठमाडौं बासीले सहरको हरेक कुना प्रयोग गर्न पाएका छैनन् । अर्थात् आआफ्नो वासस्थानमा मात्र खुम्चिनु परेको छ । अझ भनौं हामी बोरामा कोचिएको आलुजस्तै बनेका छाैँ । 

एरिजोना स्टेट युनिभर्सिटीका आसिफ इस्तियाक, मिलन श्रेष्ठ तथा नेत्र क्षेत्रीले ‘इन्भाइरोमेन्ट’ नामक जर्नलमा सन् २०१७ मा प्रकाशित गरेको एक अध्ययनअनुसार काठमाडौं उपत्यकाको कुल क्षेत्रफलको २६ प्रतिशत क्षेत्रमा बसोबास र कार्यालय, स्कुल आदिको निर्माण भएको छ । अब उपत्यका छाडेर महानगरको मात्र हिसाब गर्दा अनुमान गरौँ निर्माण क्षेत्र करिब ३६ प्रतिशत होला । 

यसरी हेर्दा निषेधाज्ञाको समयमा काठमाडौंको ३६ प्रतिशत क्षेत्रफलमा हामी १४ लाख मानिस कोचिएर बस्नुपरेको छ । अर्थात्, निषेधाज्ञा जारी हुँदाको समयमा १५ वर्ग किलोमिटरमा हामी सबै कोचिएर बस्नु परेको छ । अझै पख्नुस्, यति क्षेत्रमा बनेका घरटहरामध्ये कम्तीमा २० प्रतिशत क्षेत्रफल कार्यालय, क्लब, सोरुम, पसल, स्कुल, कारखाना, मन्दिरले ओगटेका होलान् । यसो गर्दा मानिसको घरबार भएको बसोबासको क्षेत्रफल भयो १२ वर्ग किलोमिटर । 

जनताको जिउधनमा प्रभाव पार्नसक्ने निर्णयकर्ताले यस्ता विषयमा अलिकति ध्यान पुर्‍याउन जरुरी छ । माथिको हिसाबले देखाउँछ अहिले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको अवस्थामा हामी एक वर्ग किलोमिटरमा एक लाख ६ हजार ६६६ मानिस बसिरहेका छौँ । अब भन्नुस् जस्को आफ्नै घर कम्पाउन्ड छ वा जो ठूलो फ्ल्याटमा सानो परिवारमात्र बस्छन् तिनले कति स्थान ओगटेका होलान् ? भनेपछि सानो कोठामा बस्ने, एउटै फ्ल्याटमा दुई वा तीन परिवार बस्ने, एउटै परिवारमा धेरै व्यक्ति बस्ने वा एउटै कोठामा चार, पाँचजनासम्म बस्नेहरूको अवस्था कस्तो भएको होला ?

अनि जुन सटरमा बसेको छ त्यहीँ पसल पनि भएका व्यक्तिलाई प्रहरीले जबर्जस्ती बन्द गराउन लगाएपछि ती व्यक्ति कहाँ जानु ? अब तिनको आर्थिक अवस्था के भयो भन्ने तर्क गर्नु त सिकारी कुकुरका अगाडि कुखुराको चल्लो गिडगिडाए बराबर हो । ठीक छ, आर्थिकरुपमा नसक्नेलाई बेवास्ता नै गर्नेजस्तो जुलुम मच्चाउँदा पनि एक वर्ग किलोमिटरमा एक लाख छ हजार मानिस बसोबास गर्दा रोगबाट बच्न सकिएला त ? अनि लुकेर रक्सी पसल खोल्ने, लुकेर चिया पसल खोल्ने, पछाडिबाट सामान बेच्ने कार्य चाहिँ सबैले देखेरै भएको छ । लुकेर गरेको कार्यबाट रोग नसर्ला त ?

मान्छेहरू सर्वत्र छन् भने पसल, अफिस र सडक बन्द गरेर किन खुम्चाउन खोजिएको हो ? कोरोना रोग केही व्यक्तिमा मात्र भएको भए, समुदायमा नछिरेको भए केही जोगिने संभावना थियो यस्तो निषेधाज्ञाबाट । अब त, हरेक व्यक्ति आफैँ सचेत हुने, मास्क लगाउने र दूरी कायम गर्नेबाहेक अन्य उपाय छैन । 

अनि, हैन घरबाटै निस्कनु हुँदैन, निस्कन पर्दैन र म कोठामै थुनिएर बस्छु भन्नेलाई कतै रोकटोक पनि त छैन । तर, जो निस्कन्छ तिनलाई मास्क अनिवार्य गर्ने, समूहमा गफ गर्न नदिए, भेट्न नदिए त कमसेकम पूरै सहरमा मान्छे फैलिन पाउँथे । एक वर्ग किलोमिटरमा एक लाख व्यक्ति बस्ने र को संक्रमित हो थाहा नहुने अवस्थाभन्दा एक वर्ग किलोमिटरमा २८ हजार व्यक्ति हुने गरी सम्पूर्ण क्षेत्रमा फैलन दिए हुन्न र ? फेरि बाटोमा दूरी राखेर, मोटर र मोटरसाइकलमा हिंड्ने व्यक्तिले रोग सार्ने होइनन् । नजिक हुनेले मात्र हो । घरमा नै कोचेर एक घरबाट अर्को घरमा रोग सार्दै भुसको आगो हुन नदिऊँैं । हो, अझै स्कुल नखोलौला, सिनेमा घर, पार्टी प्यालेस नखोलौँ र अन्य भिडभाड नियन्त्रण गरौँ । सबै कार्यालय, कारखानालाई पचास प्रतिशतमात्र संचालन गर्न अनुरोध गरौँ । सुरक्षित तवरले कार्य संचालन भए नभएको अनुगमन गर्न स्थानीय सरकारलाई परिचालित गरौँ । 

सबै व्यक्तिलाई घरमा थुनेर राख्दा केही कुहेको आलुसँगै सबै आलु भण्डारण गरेजस्तो हुन्छ । आलु फैलाएर सड्न रोकेजस्तै मानिसलाई सुरक्षित दूरीमा फैलाउने व्यवस्था गर्न अत्यन्त जरुरी भएको छ । त्यसैले निषेधाज्ञा, लकडाउन वा कर्फ्यु अहिलेको अवस्थामा कुनै पनि तवरमा समाधान होइनन्, जबर्जस्ती नलादौँ । मान्छे रोगको परवाहै नगरी सडकमा ढुंगा बोकेर आउने अवस्थाको सिर्जना नगरौँ । 


 

प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७  १३:१६
प्रतिक्रिया दिनुहोस्