site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कोरोना उपचार कोषमा २ अर्ब १३ करोड जम्मा, खर्च शून्य

काठमाडौं । सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा दुई अर्ब १३ करोड जम्मा भएको छ । तर, कोषमा जम्मा भएको रकमबाट एक रुपैयाँ पनि खर्च गरिएको छैन । सरकारले अर्थमन्त्रालयको सिफारिसमा महालेखा नियन्त्रक कार्यालयबाट रकम निकासा गर्ने भन्‍ने निर्देशिका तयार गरी कोषको जिम्मा महालेखा नियन्त्रक कार्यालयलाई दिएको छ । 

यो कोषमा करोडौं रुपैयाँ जम्मा भएपनि हालसम्म कोषको रकमबाट एक रुपैयाँ पनि खर्च भएको छैन । महालेखा नियन्त्रक गोपीनाथ मैनालीले यो कोषमा जम्मा भएको रकममध्ये कत्ति पनि रकम निकासा नगरेको पुष्टि गरे । उनले भने, “कोष सञ्‍चालक समितिको तीनपटक बैठक बसेका छौं । हामीले 'प्राथमिक क्षेत्र' निर्धारण गरेका छौं । तर, अहिलेसम्म रकम रिलिज गरिसकेका छैनौं ।” 

कुनै पनि समयमा रकम निकासा गर्नुपर्ने भएकाले तयारी अवस्थामा बसेको उनले दाबी गरे । कोषमा वैशाख १४ गतेसम्म दुई अर्ब १३ करोड जम्मा भएको उनले जानकारी दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यो कोषमा जम्मा भएको रकम कोरोना र कोरोनाजन्य रोगको औषधी र उपचारजन्य उपकरणमा खर्च गर्ने भन्‍ने  व्यवस्था गरिएको उनले बताए । 

अर्थबाट ४ अर्ब निकासा

अर्थ मन्त्रालयले कोरोनाको उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई करिब चार अर्ब रुपैयाँ निकासा गरिसकेको छ । 

अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले हालसम्म अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई चार अर्बको हाराहारीमा रकम निकासा गरिसकेको बताए । रकमान्तर एवं थप निकासा गरेर यो रकम स्वास्थ्य मन्त्रालयलाई दिएको गरेको उनले बताए । उनले भने, “अर्थले चार अर्ब हाराहारीमा रकम निकासा गरिसकेको छ तर कति रकम खर्च भएको छ भन्‍ने थाहाँ भएन ।” 

‘कति रकम खर्च भयो, हिसाब गर्नै बाँकी छ’

यता, कोरोनाविरुद्ध औषधी खरिदलगायतमा कति रुपैयाँ खर्च भयो भन्‍ने विषयमा हिसाब गर्नै बाँकी रहेको स्वास्थ्य सेवा विभागका महादिर्नेशक महेन्द्र श्रेष्ठले बताए । 

उनले भने, “कोरोनाविरुद्ध कति रकम खर्च भयो भन्‍ने जानकारी छैन, हिसाब गर्नै बाँकी छ ।” 

कोरोनाविरुद्धको सामान खरिदमा अनियमितता भएको भन्दै सरकारको व्यापक आलोचना भइरहेका बेला कोरोना महामारीको सम्पूर्ण स्वास्थ्य उपकरणसम्बन्धी खर्च गर्ने जिम्मेवारी पाएको विभागले यस्तो अभिव्यक्ति दिएको हो ।     

कोरोनाविरुद्धका सामग्री खरिदको जिम्मा स्वास्थ्य सेवा विभागलाई भएको स्वास्थ्य मन्त्रालयका सहसचिव रघुविर विष्टले जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०७७  १२:४६
प्रतिक्रिया दिनुहोस्