site stats
बाह्रखरी :: Baahrakhari
विशेष
काठमाडौं मर्दैछ, कहाँ छौ तिमी ?

हरेकपल्ट देशमा केही हुँदा एउटा जमात उठ्छ, कराउँछ, ठूला कुरा गर्छ,  भाषण र नारा ठोक्छ । पंचायत कालदेखि नै एउटा समूहले लोकतन्त्र, मानव अधिकार, प्रेस स्वतन्त्रता आदिका लागि सधैँ आवाज बुलन्द गर्दैआएको छ ।  जब जब यो समूह उठ्छ तब तब केही न केही परिवर्तन भएको छ ।

तर, त्यस परिवर्तनलाई संस्थागत गर्न भने यस समूहले न त कोसिस गरेको छ न सफलै भएको छ ।  अचम्म त के छ भने २०६३ सालको आन्दोलन सफल पार्न भूमिका खेल्ने सबैभन्दा सशक्त नागरिक समाज अहिले व्यवहारमा समाप्त प्रायः भएको छ । अहिले कुनै नागरिक समाज छैन, कुनै सशक्त समूह छैन, कुनै भरपर्दो आवाज छैन ।

अहिले आवाजको स्वर सुकेको छ, शक्तिको बल क्षीण भएको छ र जोसको जाँगर हराएको छ । आवाज सायद काँतर भयो कि ? नभए पनि उदासीन त पक्कै छ । काठमाडौं मर्दैछ तर कहीँ कतै कोलाहल, चिच्याहट, खबरदारी केही पनि छैन । चुपचाप चुपचाप मर्दैछ मेरो काठमाडौं ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

माओवादी ‘जनयुद्ध’मा १७ हजार २१९ मानिसको मृत्युले भयातुर बनेका कनक दीक्षितले ती आत्माको संझनामा माइतीघर मण्डलामा हजारौं मैनबत्ती बाले तर अहिले घरघरमा क्यान्सर, दम, निमोनिया र श्वासप्रश्वासका समस्याले एकपछि अर्को लास थुप्रिदै गरेको कथा सायद उनले सुनेका छैनन् । हुनसक्छ, गोली नहानी मारिएका लास उनले गन्दैनन् न त सुशील वा सुबोध प्याकुरेल यस्ता मृत्यु गनेर वार्षिक प्रतिवेदन बनाउँछन् ।

फोहोरको समस्यालाई लिएर ‘भकुण्डे भूत’ बनाउने मदनकृष्ण र हरिवंशको जोडीलाई धुलोको समस्याले राजधानीलाई समाप्त पार्यो भन्न कुनै ‘प्रोजेक्ट’ नै चाहिने त पक्कै थिएन होला । राजधानीका गल्ली र गल्छेँडोमा गाडीमै घुमे पनि यिनले पनि धुलोको कुइरीमण्डल त देखेकै होलान् । श्वासप्रश्वासको समस्याले मानिस बिस्तारै ढल्दै गएको त मनन गरेकै होलान् । अनि किन त मौन ?

कुनै बेला लामा दाह्री भएका पराजुली कवि हुने गर्थे, कलिलैमा दारी फुलेका पितवस्त्रधारी पहाडी मानव अधिकारवादी नेता हुने गर्थे । कुनै बेला सरकारसँग टक्कर लिने सचिव डा. देवेन्द्रराज पाण्डे हुने गर्थे । कुनै बेला नेतालाई बेवास्ता गर्दै राजाले खोसेको जनताको अधिकार आफँै फिर्ता लिन कम्मर कस्ने कपिल श्रेष्ठ, निलाम्बर आचार्य, डा.महेश मास्के आदि अनेक नाम हुने गर्थे । के २०६३ सालको आन्दोलनपश्चात् दलले दिएका पद र नदिएका कुण्ठाले यी सबैको वाकशक्ति चुँड्यो ? 

आज सहरमा दलाल ठेकेदार र आमालाई बेचेर धन कमाउने सरकारी कर्मचारीले जथाभावी सबैतिर सडक खनेका छन् । यिनलाई भोलिको सन्ततिलाई के होला, को अकालमा नै मर्ला, औषधोपचारमा देशको कति खर्च होला, मानिस बिरामी भएर गर्न नसकेको कामको घाटा कति होला भन्नेसँग केही मतलब छैन । एक महिनाअघि पिच गरेका बाटा सबै खनिसके ।

मानिसका घरजाने सबै बाटो फरक फरक ठेकेदारले थुनिसके । मान्छेलाई निकास दिने, गाडीको बाटो छाड्ने वा एउटा सडक सकिएपछि मात्र अर्को खन्ने भन्ने कुनै संयोजन छैन । खन्ने काम पाएकाले खनिदियो, पाइप राख्नेको पाइप ढुवानी नै भएको छैन । पुर्नेले पुरिदियो तर पुनः पिच गर्न कसैलाई वास्ता छैन । 
यो विभिन्न मन्त्रालयले गर्ने विकास कार्यक्रमको संयोजन गर्ने एउटा कार्यकारी निकाय छ भन्ने मुख्य सचिव सोमलाल सुवेदीलाई थाहा होला कि नहोला ? लिलामणी पौडेल त्यस स्थानमा हुँदा त अलिकति थाहा पाएझैँ गर्थे, हाटहुट गर्थे, कतिपय ठाउँमा आफैँ स्थलगत भ्रमण गर्थे । पौडेल चीनमा भएपनि अध्यात्मवादी गुरु एलपी भानु शर्मा त यतै एसयुभीमा गुडेको देखिन्छन् । अरूले नसके वाग्मती सफाइजस्तै धुलोविरुद्ध पनि उनी अघि आउनुपर्ने हो कि ?
अहिले सर्वत्र खनेरमात्र काठमाडौंमा सबै समस्याको सुरु भएको भने होइन । काठमाडौंको धुलो र धुँवाको उपचार गर्न खासै ध्यान कहिले पनि गएको छैन । धुलो उठाउने मेसिन अहिलेसम्म कति अर्बको आयो र त्यो कहाँ थन्कियो त्यसको आफ्नै हिसाब होला । काममा मन भएका पत्रकार पनि होलान्, तिनले कुनैबेला खोज्लान् । मोटरले गर्ने धुँवाको प्रदूषण स्टिकरको कुनै मूल्य भएन । गाडी जतिसुकै थोत्रो होस्, रु. ५०० सय तिर्नुस्, घरमै आइपुग्छ हरियो स्टिकर । 

हामी देशको लागि ठूला कुरा बोल्नेले धुलो र धुँवाजस्तो साधारण कुरा बोल्नु नहुने हो कि ? कि हामीलाई पनि विदेशी पैसा नआई यस्तो विषयमा बोल्दा घाटा लाग्ने महसुस भएर हो कि ? तर पख्नुस, नागरिक समाजका सदस्यले यस्तो विषयमा फेसबुक वा टुइटरमा केही पनि नलेखेका भने होइनन् । बडो मज्जाले लेख्नुहुन्छ, चिन्ता जताउनु हुन्छ । नारायण वाग्लेजस्तो सधैँ पैदल हिँड्नेले त सधैँ नै बाटो र वातावरणको विकृतिका विषयमा केही न केही लेखिरहेका हुन्छन् । 

आफूले सामाजिक सञ्जालमा लेखेको कुराले समस्या समाधान भएन भने चुप लागेर बस्ने हो र ? हिजो पिच गरे आज खन्ने दुई वर्ष त्यसै छाडिदिने र अनि पिच भएको अर्को साता फेरि खन्ने दुश्चक्र त सधैँ चलिरहेकै छ । धुँवावाल गाडी त निर्बाध चलिरहेकै छन् । अनि प्रदूषणमा काठमाडौं विश्वकै सातौं अति प्रदूषित सहरमा झरिसकेको छ । यस्तो अवस्थामा टुइटर र फेसबुके असन्तोषले पुग्ला त ?

लोकमान सिंह कार्कीविरुद्ध मुद्दा हाल्ने ओमप्रकाश अर्याललाई धुलो विरुद्ध मुद्दा हाल्न आएन भने रिट न्यौपाने भनेर चिनिने बालकृष्ण न्यौपानेलाई त आउनुपर्थ्यो । यसमा राजनीतिक रंगको कुनै कुरो नहुनुपर्ने हो । संविधानविद् डा. भीमार्जुन आचार्य पनि सधै धुलो, धुँवा र चिसोले ग्रस्त भएर औषधि खाँदै काममा जान्छन् ।

यिनलाई त थाहा हुनुपर्ने हो को हुन् नेपालीको ज्यान लिने फटाहा र तिनलाई कसरी जाक्नुपर्छ जेलमा भनेर । कहाँ वकिलमात्र, ठूला पत्रिकाका सम्पादकहरू पनि डा. गोविन्द केसीको ज्यानको परवाह गरेर उनलाई भेट्न जान सक्छन् तर सम्पूर्ण जनताको ज्यान जोखिममा पार्ने धुलो र धुँवाको प्रदूषणविरुद्ध प्रधानमन्त्रीकोमा प्रतिनिधिमण्डल जान सक्दैनन् । लाग्छ, हामीलाई व्यक्तिको मृत्युसँग चासो छ तर सामूहिक मृत्युसँग डर छैन । 

दुःखपूर्वक भन्नुपर्छ, काठमाडौं उपत्यका बिस्तारै मर्दैछ । काठमाडौंका जनता मर्दैछन्, यो एउटा भुत्याहा सहर बन्दैछ । मानौं काठमाडौंमा चेतना मरिसक्यो, मानौं यहाँ हरेक व्यक्ति अर्काको मृत्युमा रोमाञ्चित बन्छ । अरू कसैको अन्तिम संस्कारमा मलामीले बजाएको एकोहोरो शंखको कर्कश ध्वनि उसको कानका लागि मधुर संगीत बन्दैछ ।

यहाँ हरेक क्षण मानिस जसरी पनि पैसा थुपार्ने कर्ममा लागेका छन् । मानौ, करोडपतिलाई क्यान्सर लाग्दैन, लखपतिलाई ल्युकेमिया हुँदैन, अर्बपतिलाई अस्पताल जानु पर्दैन । तर, पैसा थुपार्ने कामबाहेक आफू बाँच्ने र भविष्यका सन्ततिका लागि एक स्वस्थ सहर निर्माण गर्ने चाहिँ हाम्रो जिम्मेवारी होइन ?
कतिलाई लाग्ला सरकारको के काम ? तर, सरकार त हामीले छानेको होइन नि !  सरकारमा जाने व्यक्ति त भ्रष्ट दलका भ्रष्ट नेताले छानेका हुन् । हामीले त तिनले छानेका व्यक्तिलाई आफ्नो राजनीतिक आस्था अनुरूप भोट हालेका न हौं ।

जब नेताले छानेको व्यक्तिले शासन गर्छ तब उसले जनताको हितमा होइन नेताको बैंक ब्यालेन्स बढाउने र आफ्नो भविष्य सुधार्ने काममात्र गर्छ भन्ने हामीलाई बोध नभएकोमात्रै हो । 
जसरी २००७, २०४६, २०६३ सालमा अधिकारका लागि लगातार लडेर जनताको अधिकार बहाल ग¥यौँ त्यसैगरी धुलो र धुँवाबाट आफू र भविष्यका सन्ततिलाई बचाउन लगातारको संघर्ष चाहिन्छ । एकजुट भएर लड्नुपर्ने अवस्था आइसकेको छ । म सडकमा उत्रन तयार छु । आफू नि ?

प्रकाशित मिति: मंगलबार, माघ २५, २०७३  १८:०२
प्रतिक्रिया दिनुहोस्