site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
यूएटी प्रतिवेदन दसैंअघि, नेप्से अनलाइन ट्रेडिङ कात्तिकपछि

काठमाडौं । साउन १ गतेदेखि पूर्ण अनलाइन हुने भनिएको सेयर कारोबार हुने मिति अझै पछाडि धकेलिएको छ । अनलाइन ट्रेडिङको पूर्वनिर्धारित मिति सकिएको तीन महिना बित्दा पनि लगानीकर्ताको अपेक्षा पूरा हुन नसकेको हो ।

पूर्ण स्वचालित हुने भनिएको सेयर कारोबारमा सफ्टवेयर नै पूर्णरुपमा तयार नहुँदा अनलाइन ट्रेडिङ अलमलमा परेको हो । सफ्टवेयर तयार भएको बताइए पनि परीक्षण अझै नसकिएको र युजर एसेप्टेन्स टेस्टको प्रतिवेदन नआइसकेकाले बनेको सफ्टवेयर प्रयोगका लागि उत्कृष्ट रहेको ढुक्क हुने अवस्था छैन ।

साढे दुई वर्षअघि वाइको नेपाललाई नेप्सेले अनलाइन कारोबारको सफ्टवेयर तयार पार्न सम्झौता गरेको थियो । तर निर्माण सम्झौता भएको अढाई वर्ष बित्दा पनि लगानीकर्ताले घरमै बसेर सेयर कारोबारको अर्डर दिन पाएका छैनन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

लगानीकर्ताले पूर्ण स्वचालित सेयर कारोबार अनुभव गर्न अझै एक महिना कुर्नुपर्ने भएको छ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)का अनुसार यूटीएको सबै प्रक्रिया पूरा हुन केही दिन लाग्ने भएको र त्यसपछि नियामक निकायको अनुमति लिनुपर्ने भएकाले दसैंअघि अनलाइन ट्रेडिङ सुरु नहुने भएको हो ।

त्यसैगरी नेप्सेले मक ट्रेडिङ पनि सञ्चालन गरिरहेको जनाएको छ । नेप्सेले मक ट्रेडिङ गर्ने विधिसहितको युजर म्यानुअल दिएको छ । मक ट्रेडिङ सिस्टममा ४ देखि ६ सातासम्म परीक्षणकाल रहने विकासकर्ता वाइकोले जनाएको छ । सो अवधिमा केही समस्या आए त्यसको समाधान गरिने भएकाले दसैंअघि नै पूर्ण स्वचालित सेयर कारोबार असम्भव छ ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदका अनुसार सेयर कारोबारका लागि अधिकांश तयारी पूरा भइसकेको छ । उनका अनुसार असोज २ गते मक ट्रेडिङ सुरु भएको तथा सफ्टवेयरको युजर एसेप्टेन्स टेस्टिङ (यूएटी) पनि सम्पन्न भइसकेको छ ।

बाह्रखरीसँग कुरा गर्दै साउदले भने, “डाटा सेन्टर नेप्सेमै राखिने भएको छ । यूएटीको प्रारम्भिक प्रतिवेदन प्राप्त भइसकेको छ र अन्तिम प्रतिवेदन पनि असोजभित्रै तयार हुनेछ ।” यो अवस्थामा कात्तिकभित्र पूर्ण स्वचालित सेयर कारोबार लाइभ जाने (कार्यान्वयन हुने) दावी उनको छ ।

यसअघि नेप्सेले ब्रोकरहरुलाई आफैं पूर्वाधार निर्माण गर्न निर्देशन दिँदा मक ट्रेडिङ पछाडि धकेलिएको थियो । साउन १ गतेदेखि सेयर कारोबार अनलाइन हुने भनिए पनि सोदिन नेप्सेले केही ब्रोकरमार्फत् परीक्षणको रुपमा समानान्तर ट्रेडिङमार्फत् युएटी सुरु गरेको थियो । जसअनुसार लगानीकर्ताले युजरनेम र पासवर्ड प्रयोग गरी सिस्टममा पुहँच पाउँथे तर कारोबार भने सम्भव थिएन ।

अहिले ब्रोकर कार्यालयले डाटा नेप्सेमा राख्न पाउने भएपछि पुरानो प्रणाली छोडेर नयाँमा गएको हो । परीक्षणको रुपमा रहेको अनलाइन ट्रेडिङ प्रणाली कार्यान्वयनमा आएपछि मात्र लगानीकर्ताले कम्प्युटर र मोबाइलबाटै खरिद गर्न सक्नेछन् । मक टेस्टमा लगानीकर्ताले युजरनेम र पासवर्डबाट लगइन गरी कारोबारको खरिदबिक्रीको आदेश दिन सक्ने व्यवस्था मिलाइएको छ ।

मकमा प्रयोगकर्ता न्यून
सेयरको मक कारोबार सुरु भए पनि युजरनेम र पासवर्ड प्रयोग गरी मक ट्रेडिङमा सहभागी हुने लगानीकर्ताको संख्या भने उल्लेख्य छैन । अहिलेको प्रणालीमा पनि सेयर कारोबार गर्ने सकिने भएकाले मक कारोबारमा लगानीकर्ताको आकर्षण नदेखिएको हो ।

नेप्से सीईओ साउदका अनुसार पनि मक ट्रेडिङमा लगानीकर्ताको अपेक्षाकृत सहभागिता छैन । वास्तविक कारोबारमा क्लोज आउटको समस्या हटाउन मक ट्रेडिङ गराएको उनले बताए । क्लोज आउटमा पर्दा लगानीकर्ताले २५ प्रतिशत अतिरिक्त शुल्क तिर्नुपर्ने अवस्था नल्याउन मक ट्रेडिङ गराइएको उनले स्पष्ट पारे ।
पूर्ण अनलाईन कारोबार सुरु भएपछि अनलाइन चलाउन नजान्दा क्लोजआउटको सम्भावना बढी हुने उनको दावी छ ।

यूएटी प्रतिवेदन
नेप्सेले साउनमा युएटी (युजर एसेप्टेन्स टेस्ट) गर्न तेस्रो कम्पनीका रुपमा भारतीय कम्पनी एकेएस इनफोर्टिक्ससँग सम्झैता गरेको थियो । सो कम्पनीले नेप्सेलाई प्रारम्भिक प्रतिवेदन बुझाइसकेको छ । जसमा वाइकोले बनाएको सफ्टवेयर ७० प्रतिशत सिस्टम रिक्वायरमेन्ट स्पेसिफिकेसन अनुसार बनेको उल्लेख छ । अन्तिम प्रतिवेदन आएपछि सिस्टमका अधिकांश समस्या समाधान हुने अपेक्षा राखिएको छ ।

युएटी गर्दा सफ्टवेयर प्रयोगकर्तालाई पर्ने समस्याको पहिचान र समाधान एकैसाथ भइरहेकोले अन्तिम प्रतिवेदन आएको बढीमा एक महिनाभित्र निर्माण भएको सफ्टवेयर पूर्णरुपमा प्रयोग गर्न सकिने नेप्सेले जनाएको छ ।

कस्तो हुन्छ अनलाइन ट्रेडिङ ?
पूर्ण अनलाइन ट्रेडिङ प्रणाली लागु गर्ने तयारीमा रहेको नेप्सेले लगानीकर्तालाई घरमै बसेर इन्टरनेटको माध्यमबाट कम्प्युटर, ल्यापटप र मोबाइलबाट सेयर खरिद तथा बिक्रीको अर्डर सक्ने व्यवस्था मिलाउन लागेको हो । यसले पुँजी बजारलाई थप चलायमान र सरल बनाउने अपेक्षा गरिएको छ ।

सेयर बजारमा अनलाईन प्रणालीमार्फत् किनबेच गर्न चाहने लगानीकर्ताले सबैभन्दा पहिले सेयर दलालको कार्यालयमा आफ्नो नाम दर्ता गराउनुपर्ने हुन्छ । कारोबार गर्ने व्यक्ति र ब्रोकर कम्पनीबीच एउटा सम्झौता त्यहिबेला गरिन्छ ।

दुई पक्षबीचको सम्झौतामा सेवाग्राहीको डिम्याट खाता, बैंक खाता, कारोबार रकम अधिकार, पेश्की आदि विषयमा भएको सम्झौता अनुसार ब्रोकरले कारोबार गर्दछ । अहिले पनि यही हिसाबले करोबार हुने गरेको छ । ब्रोकरले लगानीकर्तालाई उसको बैंक खातामा रहेको रकम र मार्जिन कर्जालगायतका कुराहरुको आधारमा कारोबार सीमा तोकी सम्बन्धित लगानीकर्तालाई कारोबारको अधिकार दिन्छ ।

अहिले कारोबार गर्न चाहनेले लेखेर अर्डर दिनुपर्छ भने अनलाइन प्रणालीमा मोबाइल वा कम्प्युटरबाटै अर्डर दिन सकिन्छ ।  ब्रोकर कार्यालयमा उपलब्ध फारम भरेर किन्ने वा बेच्ने लिखित अर्डर दिने र आदेश संकलन गरेर ब्रोकरले सिस्टममा इन्ट्रि गर्ने प्रणाली भने अन्त्य हुनेछ ।

यसर्थमा, सेवाग्राहीले दिएको अर्डर सिधै सिस्टममा पुग्छ । यद्यपि, ब्रोकरले भने कारोबार मोनिटर गरिरहेको हुन्छ । अनलाइन प्रणाली भएपनि सेवाग्राहीले ब्रोकर बिनै कारोबार गर्न अवसर भने पाउनेछैनन् । नयाँ प्रणालीमा पनि अहिले झैं फरकफरक ब्रोकरको कार्यालयमा खाता खोली चाहे अनुसारको कारोबार गर्न सकिनेछ । अलग ब्रोकरबाट कारोबार गर्दा अलग एकाउन्टमा लगइन भने गर्नु पर्नेछ ।

तर, सर्वसाधारणमा अनलाइन प्रणाली आउनेबित्तिकै ब्रोकरको सेवा लिनुपर्दैन भन्ने बुझाइ गलत रहेको बताइएको छ । ब्रोकरको काम भनेको निगरानी गर्ने सम्झौता अनुसार मात्र सेयर बजारमा कारोबार गर्न पाइन्छ । अनलाइन प्रविधिले सहजता प्रदान गर्ने भए पनि परिसूचक भने बढाउनेछैन ।

नेप्से अनलाइन ट्रेडिङ ट्युटोरियलको भिडियो हेर्नुस्

 

प्रकाशित मिति: आइतबार, असोज २१, २०७५  १७:५५
प्रतिक्रिया दिनुहोस्